१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


कोरोनाका कारण खर्बौ गुमाउँदै धनकुबेरहरु, अम्बानीले दैनिक ४८ अर्बभन्दा बढी गुमाउँदै


0
Shares

काठमाडौं, चैत्र २६ । कोरोना भाइरसका कारण संसार हल्लिएको छ । गरीब मुलुकलाई त यसै संकट थपिएकै छ, धनी देशहरु पनि यसबाट हायल कायल बनिरहेका छन् ।

अर्कातिर गरीब मानिस छाक टार्न नसकेर मृत्युको मुखमा पुग्ने अवस्था आइसकेको छ भने संसारका धनाढ्यहरु आफ्नो साम्राज्य हेर्दाहेर्दै ढलेको सहन विवश भएका छन् ।

यसैबीच धनकुबेरहरुका लागि चिन्ता बढाउने खबर आइरहेको छ । संसारकै धनीहरु दैनिक अर्बोअर्ब गुमाइरहेका छन् ।

यसैक्रममा संसारकै धनीमध्येका एक मानिने भारतीय धनाढ्य मुकेश अम्बानी दैनिक चार सय मिलियन डलर बराबरको सम्पत्ति गुमाइरहेका छन् ।

यो नेपाली पैसामा हेर्ने हो भने ४८ अर्बभन्दा बढी हुन आउँछ । अर्थात् भारतीय धनकुबेर अम्बानीको ढुकुटीमा कोरोनाले गरेको आक्रमणबाट उनी दैनिक ४८ अर्ब गुम्दै गरेको हेर्न विवश छन् ।

र उनी पछिल्लो दुई महिना यता यसरी दैनिक रुपमा लगातार आफ्नो धनको पहाडमा पहिरो गएको सहन बाध्य भएका छन् ।  

क्वार्ज इन्डिया नामक अनलाइनमा अनन्या भट्टाचार्य लेख्छिन्, यसरी एक झट्कामा पैसा गुमाउनेहरुमा अम्बानी मात्रै छैनन्, भारतका अरु थुप्रै अर्बपतिहरुले पनि आफ्नो धनहैसियत गुमाउँदै लगेका छन् ।

मुकेश अम्बानीलागि यो ठूलै आँधीसरह बनेर आएको छ । उनको कूल धनमा २८ प्रतिशत घटेको हो । दुई महिनाको यस अवधिमा अम्बानीको १९ बिलियन अर्थात् १९ खर्ब रुपैयाँ स्वाहा भएको हो ।

उर्जा क्षेत्रमा दिग्गज मानिने रिलायन्स इन्डष्ट्रिज र जियो टेलिकमका मालिक अम्बानीको कूल सम्पत्ति ४८ बिलियन डलर रहेको पनि उक्त अनलाइनले लेखेको छ ।

यसैगरी संसारभरका एक सय धनाढ्यले कोरोनाको आक्रमणमा ४०८ बिलियन सम्पत्ति गुमाएकाछन् ।

कोरोनाका कारण सबैभन्दा बढी धनको साम्राज्य गुमाउनेमा फ्रान्सका बर्नार्ड अर्नल्ड ३० बिलियन, मुकेश अम्बानी १९ बिलियन, अमेरिकाका बरेन वाफेट १९ बिलियन, स्पेनका अमान्सियो ओर्टेगा १७ बिलियन, मेक्सिकोका कार्लोस स्लिम हेलु १७ बिलियन, अमेरिकाका बिल गेट्स १५ बिलियन छन् ।

यस्तै अमेरिकाकै मार्क जकरबर्ग १३ बिलियन, अमेरकाकै ल्यारी पेज १३ बिलिलयन, अमेरिकाकै सर्जेई ब्रिन १३ बिलियन, अमेरिकाकै मिचेल ब्लूमबर्गले १० बिलयन गुमाएका हुन् । (एजेन्सी)