४ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025


रूकुम पश्चिममा पैसा बाँडेको आरोपमा माओवादीका उम्मेदवार पक्राउ


377
Shares

काठमाडौं । रूकुम पश्चिममा पैसा बाँडेको आरोपमा माओवादी केन्द्रका उम्मेदवारलाई प्रहरीले पक्राउ गरेकाे छ ।

चौरजहारी नगरपालिका १० खोलागाउँबाट बुधबार राति प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगातलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले बताउनुभयो । मौन अवधिमा आफ्नो पक्षमा पार्न मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको हो । उनीहरुको साथबाट तीन थान खुकुरीसमेत बरामद भएको छ । रूकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच फेरि झडप भएको छ । झडपमा परि पाँच जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन् ।

डिल्लीको टाउको र बाँया हातमा चोट लागेको छ भने डायमनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । बुढा र घर्तीको टाउकोमा चोट छ । घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले बताउनुभयो । यसैबीच पैसा बाँडेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका एक उम्मेदवारसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले नियन्त्रणमा लिनुअघि माओवादी र कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको थियो ।