१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


ललितपुर महानगरले बिहीबारबाट राहत वितरण गर्दै


0
Shares

ललितपुर, चैत २५ । ललितपुर महानगरपालिकाले ज्याला, मजदुरी गर्ने ,विपन्न , असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति र परिवारलाई बिहीबारबाट राहत स्वरुप खाद्य सामग्री वितरण गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्दै गरेको लडडाउनका कारण उनीहरु भोकै बस्न नपरोस् भन्दै राहत वितरण गर्न लागिएको हो । लडडाउनका कारण उद्योग, कलकारखाना बन्द छन् ।

विभिन्न वडाहरुबाट प्राप्त विवरणको आधारमा मंगलबार र बुधबार आवश्यक तयारी सकेर विहिबारबाट राहत  वितरण गर्ने महानगरपालिकाले जनाएको छ । राहत वितरण प्रत्येक वडाबाट हुनेछ ।

ललितपुर महानगरपालिकाको कार्यपालिका बैठकले हाललाई दुईजना सम्मको परिवारलाई पाँच किलो चामल, एक किलो दाल, १ प्याकेट नून, साबुन दुईवटा, चिउरा १ किलो र तेल आधा लिटर वितरण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी तीन र तीनभन्दा माथिका परिवार संख्या भएकालाई १० किलो चामल, २ किलो दाल , १ प्याकेट नुन, ३ वटा साबु, डेढ किलो चिउरा र आधा लिटर तेल वितरण गर्न निर्णय भएको महानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।

यसैगरी ललितपुर महानगरपालिकाले आकस्मिक कोरोना भाइरस (कोभिड —१९) नियन्त्रण र रोकथाम गर्नका लागि विभिन्न कार्यक्रम संचालन गर्न ललितपुर महानगरपालिका आकस्मिक कोरोना भाइरस नियन्त्रण तथा राहत कोष शीर्षकमा नेपाल बैंक लिमिटेडमा खाता खोलेको छ ।

खाता नं ०१८००१०६८३३३०७०००००१ रकम जम्मा गरि सहयोग गर्न चाहनु हुनेलाई ललितपुर महानगरपालिकामा सम्पर्क राख्न समेत अनुरोध गरिएको उल्लेख छ ।

महानगरपालिकाले एक साता अघि पाँच करोड रुपैयाँको कोरोना भाइरस रोकथाम तथा राहत कोष स्थापना गरेको थियो ।

महानगरपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उक्त रकम बराबरको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन उक्त समितिको संयोजक हुन् । वडा वडाबाट प्राप्त भएको विवरण अनुसार राहत लिनेको संख्या करीब एक लाख हुने महानगरपालिकाले जनाएको छ ।

अर्थ मन्त्रालयले बिहीबार नयाँ मापदण्ड र राहत लिनको लागि भर्नुपर्ने फारमको नयाँ ढाँचा पठाएपछि ललितपुर महानगरपालिकाले शनिवार साँझ पाँच बजेसम्म सम्बन्धित पक्षलाई पुन निवेदन दिन आव्हान गरेको थियो । 

यस अघि महानगरपालिकाले सोमबार नै विपन्न, दैनिक, ज्यालादारी गर्ने लगायतको विवरण संकलनको लागि सूचना जारी गरेको थियो ।