Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


‘लकडाउन’मा काम गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी महासंघको आग्रह


0
Shares

काठमाडौं, चैत २५ । नेपाल निर्माण व्यवसायी महासंघले ‘लकडाउन’को समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।

लकडाउनका कारण विकास निर्माणकार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको महासंघका महासचिव रोशन दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले अहिलेको समय निर्माण व्यवसायीको काम गर्ने समय भएको हुँदा निर्माण सामग्री आपूर्ति गरिसकेका आयोजनालाई सुरक्षा अपनाएर निरन्तरता दिनका लागि सरकारले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।

‘निर्माण व्यवसायीले पुल निर्माणका लागि अर्बौं रकम लगानी गरी निर्माण सामग्री सम्बन्धित स्थानमा ल्याइसकेकाले वर्षाअगाडि नै निर्माण सम्पन्न गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्छ’–विज्ञप्तिमा भनिएको छ ।

परियोजना निर्माण क्षेत्रमा सीमित श्रमिक हुने र सामाजिक दूरी कायम गर्न सकिने हुँदा कोरोनाभाइरसको खतरा कम हुने महासंघको ठहर छ ।

यस्तै, महासंघले पुल निर्माणका लागि आवश्यक पर्ने मेसिनलगायत उपकरण र निर्माण सामग्री तथा आवश्यक पर्ने खाद्यान्नको ढुवानी गर्न र पुलको इन्जिनियर तथा मजदुरलाई अनुमति पासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्वव्यापीरुपमा फैलँदै गएको नोभेल कोरोनाभाइरस (कोभिड–१९)को सम्भावित संक्रमणको रोकथामका लागि सरकारले यही चैत ११ देखि वैशाख ३ गतेसम्म लकडाउन गरेको छ । रासस