
एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले आफूलाई विदेश जान लगाइएको प्रतिवन्ध फुकाउन भारतीय अदालत समक्ष अपिल गरेकी छिन् ।
ज्याकलिनलाई भारतीय प्रवर्तन निर्देशालय (इडी) ले ठग सुकेश चन्द्र शेखरसँगको मनी लन्ड्रिङ (मुद्रा अपचलन) मुद्दामा अहिलेसम्म क्लिन चिट दिएको छैन । भारतीय अनुसन्धान एजेन्सीले उनलाई भारत छोडेर बाहिर जान प्रतिबन्ध लगाइरहेको छ । त्यसकारण उनले प्रतिबन्धको विरुद्ध दिल्लीको पटियाला हाउस अदालतमा अपिल गरेकी हुन् ।
अदालत समक्ष ज्याकलिनले आफ्नो पेशागत कामका लागि विदेश जान अनुमति दिन माग गरेकी छिन् । उनले अदालतसँग १५ दिनका लागि अनुमति मागेकी छिन् । ज्याकलिनले यही मे २० र २१ मा युएइको अबुधावीमा हुने आइफा अवार्डमा सहभागी हुनका लागि प्रतिबन्ध फुकुवाको माग गरेकी हुन् । त्यसैगरी उनले फ्रान्स र नेपाल भ्रमण गर्नका लागि अदालत समक्ष स्वीकृति दिन पनि आग्रह गरेकी भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
निवेदनमा ज्याकलिनका वकिलले अदालतलाई इडीले आफ्नो चार्जसिटमा ज्याकलिनलाई आरोपिको रुपमा नाम नदिइएको बताएका छन् । इडीले ज्याकलिनको राहदानी समेत जफत गरेको बताइएको छ । यसअघि गत वर्षको डिसेम्बर महिनामा ज्याकलिनलाई मुम्बई एयरपोर्टमा अध्यागमन प्राधिकरणले देश छोड्न रोक लगाएको थियो । किनकि इडीले ज्याकलिनलाई लुक आउट सर्कुलर जारी गरेको थियो । ठग सुकेशसँग २ सय करोड भारतीय रुपैयाँको मनी लन्ड्रिङको मुद्दामा ज्याकलिन जेलिएकी हुन् ।
केही दिन अगाडि यो मुद्दाको छानबिनको क्रममा इडीले ज्याकलिनको ७ करोड २७ लाख भारतीय रुपैयाँ जफत गरेको थियो । ज्याकलि माथि ठग सुकेशसँग करोडौँ रुपैयाँको महंगो उपहार लिएको आरोप छ । विदेश जान नपाएपछि उनले अदालत गुहारेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्