तीर र हलोले घोचेर सूर्य चिन्ह प्वाल पारिसक्यो : महामन्त्री थापा « Imagekhabar – Online News Portal of Nepal


तीर र हलोले घोचेर सूर्य चिन्ह प्वाल पारिसक्यो : महामन्त्री थापा

‘केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आए’

1.885k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले एमालेको सूर्य चिन्हलाई प्वाल पारेको बताउनुभएको छ ।

मंगलबार गठबन्धनको तर्फबाट गरिएको काठमाडौं महानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कमल थापाको तीर र राजेन्द्र लिङ्देनको हलोले घोचेर एमालेको सुर्य चिन्ह प्वाल पारेको बताउनुभयो ।

सत्तारुढ गठबन्धनको विरोध गर्ने एमालेले कमल थापा, राजेन्द्र लिङ्देनदेखि विप्लव र सिके राउतसम्म गठबन्धन गरिरहेको उहाँले बताउनुभयो ।

कांग्रेसलाई रुखमा भोट हाल्न नपाएका विचरा भनिएको उल्लेख गर्दै उहाँले एमालेले पनि गत निर्वाचनमा ५९ वटा क्षेत्रमा सूर्यमा भोट हाल्न नपाएको र हसिया हथौडामा भोट हालेको स्मरण गराउनुभयो ।

महामन्त्री थापाले गठबन्धनको राजनीति कसको कारणले गर्दा आएको हो भन्ने प्रश्न समेत गर्नुभयो ।

महामन्त्री थापाले एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताउनुभयो । स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने उहाँले बताउनुभयो ।

महामन्त्री थापाले एमालेले अघिल्लो निर्वाचनमा गरेको प्रतिवद्धतालाई पूरा नगरेर मतदाता र काठमाडौंबासीलाई हेपेको बताउनुभयो ।