
विनोद सिंह विष्ट
बैतडी, साउन २७ । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगंगामा रहेको धौलीगंगा जलबिद्युत परियोजनाको बाँध खोलिने भएको छ ।
बाँध सरसफाईका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गर्न लागेको जानकारी भारतीय पक्षबाट आएको जिल्ला प्रसासन कार्यालय दार्चुलाले एक सूचनामार्फत जनाएको छ । जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरेको छ ।
बाँधबाट बढी मात्रामा पानी छोडिदा महाकालीमा बाढी आउने खतरा हुने भएकोले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाँधको पानीका कारण महाकालीमा पानीको बहाब र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न भारत र नेपाल दुबै देशका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । दार्चुला सदरमुकामवासी सबैभन्दा बढी सतर्क रहनुपर्छ ।
दार्चुलाको ब्यास, दुहु, मालिकार्जुन र लेकम गाउँपालिकाका साथै महाकाली नगरपालिकाका महाकाली नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित भएर बस्न एवं पूर्व सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको हो ।
पछिल्लो समय बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्व सतर्कता अपनाउन सजिलो भएको छ । केही दिन पहिले दार्चुलामा सम्पन्न नेपाल र भारतका जिल्ला अधिकारीहरुको बैठकमा बाँधको पानी छाड्ने समयबारे जानकारी अर्थात् सूचना आदानप्रदान गर्ने सहमति भएको थियो ।
यस बर्षमात्रै धौलीगंगाको बाँध ४ पटक खोलिएको छ । धौलीगंगा जलविद्युत परियोजनाको क्षमता २८० मेगावाट छ ।
विसं. २०७० सालमा धौलीगंगाकै बाँधका कारण आएको बाढीले दार्चुला सरमुकाममा अर्बौको क्षति गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्