
काठमाडौं, असार २ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटकाबारेमा जथाभावी अभिव्यक्ति नदिन नेपाल नेकपाका सांसदहरुलाई निर्देशन दिएका छन् ।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदको मर्यादा, सत्ता र प्रतिपक्षी दलको मूल्य–मान्यतामा कायम रहँदै बजेटको बचाउमा आफ्ना अभिव्यक्ति केन्द्रित गर्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।
सबै क्षेत्रका जनता र प्रतिनिधिका आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सफल रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले बजेटप्रति असन्तुष्टि भए संसदमा नभइ पार्टीमा राख्न आग्रह गरे ।
संसदमा सत्तारुढ दलकै सांसदहरुले बजेट विनियोजनमा विभागीय मन्त्री र ठूला नेता हावी भएको भन्दै सरकारको चर्को आलोचनामा उत्रिएपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यसको मर्मलाई बुझेर प्रस्तुत् हुन पनि सांसदहरुलाई निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्