चिन्ह चिनाउँदै स्वतन्त्र उम्मेदवार, सशक्त एजेण्डा तर सुस्त प्रचार « Imagekhabar – Online News Portal of Nepal


चिन्ह चिनाउँदै स्वतन्त्र उम्मेदवार, सशक्त एजेण्डा तर सुस्त प्रचार


1.3k
Shares

कोमल शेरचन/गृष्मा राजभण्डारी
काठमाडौं । दलीय उम्मेदवार तामझामसाथ मत माग्न व्यस्त भइरहँदा स्वतन्त्र उम्मेदवारको व्यथा अलग छ ।

न अगुवा पछुवा, न झण्डा, न कार्यकर्ता, न सम्पर्क कार्यालय । उनीहरूको प्रचार शैली व्यवस्थित देखिँदैन । एजेण्डामा जतिसुकै राम्रा विषय समेटे पनि देशभरकै स्वतन्त्र उम्मेदवारको सहारा राष्ट्रिय झण्डा बनेको छ ।

एकातिर दलीय उम्मेदवारको बाजागाजा, सगुनसहित भव्य स्वागत भइरहँदा स्वतन्त्र उम्मेदवारले व्यहोर्ने चुनौती कष्टकर देखिन्छ । दलहरू कार्यकर्ता परिचालनमा व्यस्त हुँदा स्वतन्त्र उम्मेदवारलाई भने कार्यकर्ता बनाउनै मेहनत गर्नुपर्ने देखिन्छ ।

अझ उनीहरूले पाएको चुनाव चिन्ह स्थापित गर्न अर्को पापड बेल्नुपर्ने अवस्था छ । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार सुशील थापा चुनावी प्रचारबाट आफैँ सन्तुष्ट हुनुहुन्न ।

निर्वाचनअघिको घरदैलोसँगै निर्वाचनपछि पनि जनताको आकांक्षा बुझेर विकास गर्नुपर्नेमा उहाँको जोड छ । आफ्नो मनमा आएको विकासको भिजन भन्दा पनि जनताले कस्तो चाहिरहेका छन् भनेर बुझ्न जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

निर्वाचन आयोगले आचारसंहिता कडाइ गरे पनि दलहरूले भाषणदेखि प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । स्वतन्त्र उम्मेदवारलाई आफ्नो धारणा सुनाउन मान्छे नजुट्ने अर्को त्रास छ । जोगीदेखि भोगीसम्मले राष्ट्रिय झण्डा बोकेर हिँड्ने भएकाले नागरिक तहमा त्यसप्रति आकर्षण देखिदैन ।

ठूला दलको तामझामले स्वतन्त्र उम्मेदवारीमा असर पर्ने स्वयं उम्मेदवारले महसूस गरेका छन् । घरदैलो अभियान उचित नभएको उम्मेदवार थापा बताउनुहुन्छ । नगरबासीसँग सम्पर्क र समन्वय गर्नकाे लागि सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमहरू प्रभावकारी हुने उहाँकाे बुझाइ छ ।

त्यसो त पार्टीको झण्डा बोकेको भए पनि विवेकशील पार्टीले प्रचारमा तडकभडकलाई प्रश्रय दिएको छैन । आफूलाई विधिको शासनप्रति समर्पित मान्ने यो पार्टीका नेता कार्यकर्ताहरू राजनीतिक जीवनमै नयाँ अनुहारको उपस्थिति अपरिहार्य ठान्छन् ।

दलीय जालोले देशभर घेरेको स्थितिमा स्वतन्त्र उम्मेदवारी आफैंमा चुनौतीपूर्ण छ । अझ आफ्नो घेराबाट शासकीय राजनीति उम्किन नदिने दलीय सिन्डिकेटका कारण स्वतन्त्र उम्मेदवारको जमिन झन्झन् साँघुरिदै गएको छ । यद्यपि एक्काइसौं शताब्दीका मतदाताले एजेण्डा रोज्नेमा उनीहरू विश्वस्त छन् ।