
काठमाडौं, चैत २३ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न सरकारले लागु गरेको लकडाउन १३ दिनदेखि जारी रहेको छ ।
बाहिर ननिस्की घरमै बस्न सरकारले आग्रह गरे पनि उल्लंघन गर्नेहरुको संख्या भने दिनानुदिन बढ्दै गएको छ ।
काठमाडौं उपत्यकामा पनि उल्लंघनको संख्या अधिक रहेको छ । आइतबारमात्रै अहिलेसम्म काठमाडौं उपत्यकाबाट एक हजार ७ सय ९७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर रानीपोखरीले जनाएको छ ।
जसमा १४ सय ५४ पुरुष तथा ३ सय ४३ महिला हुन् । काठमाडौंबाट दुई सय ६८ महिलासमेत गरी १३ सय ८८, ललितपुरबाट ४० महिलासमेत गरी दुई सय ३३ तथा भक्तपुरबाट ३५ महिला गरी एक सय ७८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।
त्यस्तै दुई सय ४७ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा दुई पाङ्ग्रे दुई सय ३८ तथा चार पाङ्ग्रे नौ रहेका छन् ।
त्यसैगरी मिति सकिइसकेको पुरानो पास लिएर सवारी चलाउने ३५ सवारी साधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यका बाहिर पनि लकडाउन तोडेको संख्या उल्लेख्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्