Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


स्वास्थ्यका कर्मचारीले राजीनामा दिन नपाउने, सुत्केरी र किरियाबाहेकका बिदा नमिल्ने


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, चैत २२ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा कार्यरत् कर्मचारीले राजीनामा दिन नपाउने निर्णय गरेको छ ।

प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रमा कार्यरत् कर्मचारीले राजीनामा दिन नपाउने निर्णय गरेको हो ।

त्यसैगरी, सुत्केरी र किरियाबाहेकका अरु बिदा लिएको भए ती बिदाहरु पनि रद्द गर्ने निर्णय गरेको छ ।

बैठकले १२ बुँदे निर्णय गर्दै सरकारले कोरोनाको रोकथाम र नियन्त्रणका लागि तयार रहन मातहतका कार्यालय र कर्मचारीलाई निर्देशन दिएको छ ।

यस्तै, विदेशबाट आएका व्यक्तिहरुको अनिवार्य स्वाब परीक्षण गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

कोरोनाको उपचार र रोकथामका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न सबै अधिकार सामाजिक विकास मन्त्रालयलाई दिइएको छ  ।

त्यस्तै, सामान आपूर्ति हुन नसके संघीय सरकारसँग माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

निजी, सामुदायिक र शैक्षिक क्षेत्रअन्तर्गत् सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थालाई कोरोना रोगको उपचारका लागि तयार रहन निर्देशन दिइएको छ ।

प्रदेश सरकारले कोरोना रोगको रोकथाम, नियन्त्रण तथा उपचारको कार्यमा असहयोग गर्ने, बाधा पुर्‍याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐनबमोजिम कारबाही गर्न सबै स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।