३० असार २०८२, सोमबार | Mon Jul 14 2025


पर्यटकका पीडाः स्वदेश फर्कन पाउने आशामा विमानस्थल धाउँदै यी विदेशी (भिडियो)


0
Shares

गृष्मा राजभण्डारी र भरत केसी (इमेज)

काठमाडौं, चैत २२ । विश्वव्यापीरुपमा फैलिएको कोरोनाको महामारीका कारण सरकारले ‘लकडाउन’ गरेसँगै नेपालका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकलाई विभिन्न देशले आफ्ना दूतावासमार्फत् स्वदेश फर्काएका छन् ।

सरकारले आकस्मिकरुपमा लकडाउन गरेका कारण देशभर छरिएर रहेका पर्यटक काठमाडौं आउन नपाएपछि अलपत्र परेका थिए ।

स्थानीय निकायको समन्वयमा काठमाडौं ल्याएलगत्तै उनीहरुलाई स्वदेश फर्काइएको हो ।

सरकारले अलपत्र विदेशी नागरिकलाई सम्बन्धित दूतावासमार्फत् समन्वय गरेर स्वदेश फर्काउन सरकारले अनुमति दिएसँगै डेनमार्ककी एक महिला विमानस्थल धाएको धेरै दिन भयो ।

जर्मनीसँग आफ्नो देशको सीमा जोडिएकाले त्यहाँसम्म पनि जान पाइन्छ कि भन्ने आशमा उनी दिनहुँ विमानस्थल पुग्ने गरेकी छन् ।

यद्यपि, जर्मनी र फ्रान्सका नागरिकलाई क्रमबद्धरुपमा स्वदेश लैजाने व्यवस्था मिलाइएकाले आफू जान पाउने वा नपाउने भन्ने विषयमा अलमलमा परेको उनले बताइन् ।

उनीमात्र होइन, फिनल्यान्डका एक नागरिक पनि जर्मनी वा फ्रान्सको रुट भएर स्वदेश फर्कने आशमा विमानस्थल धाइरहेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण नेपालले पनि यसको रोकथाम र नियन्त्रणका लागि देशैभर लकडाउनको घोषणा गरेपछि हजारौं विदेशी नागरिकहरु अलपत्र परेका थिए ।

जसमा केही नागरिकलाई सम्बन्धित देशहरुले स्वदेश फर्काइसकेका छन् भने अझै ७०० भन्दा बढी विदेशी स्वदेश फर्कन पाउने आशामा विमानस्थल धाइरहेका छन् ।

लकडाउनसँगै सुनसान बनेपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अहिले विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

जर्मनी र फ्रान्स राजदूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन छुट्टा–छुट्टै डेस्क नै खडा गरेर विवरण संकलन गरिरहेका छन् ।

पोल्यान्डका एक नागरिक विगत १५ दिनदेखि विमानस्थल धाइरहेका छन् । यसअघि पनि हामीले उनी स्वदेश फर्कन नपाएको विषयलाई समेटेका थियौं ।

नेपालमा पोल्यान्डको दूतावास नभएकाले आफू स्वदेश फर्कने सुनिश्चित नभएकाले विमानस्थल धाउनु दिनचर्या भएको उनी बताउँछन् ।

नेपालमा दूतावास नभएर स्वदेश फर्कन नपाएका विदेशीलाई घर पठाउन नेपाल प्रहरीले पनि प्रयास भने जारी राखेको छ ।

भिडियो हेर्नोस्