
काठमाडौं । स्पेनको भिल्ला रियललाई हराउँदै इंग्लिस फुटबल क्लब लिभरपुल युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति स्पेनमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा लिभरपुलले भिल्लालाई ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल २–० ले जितेको लिभरपुलले मंगलबार रातिको खेलपछि भिल्लालाई समग्रमा ५–२ ले पाखा लगायो ।
पहिलो हाफमा भिल्लाका बुलाय डिया र फ्रान्सीस कोक्विनलिनले गोल गरेपनि लिभरपुलले दोस्रो हाफमा तीन गोल फर्काएको हो । लिभरपुलका लागि फाबिन्हो, लुइस डियाज र सादियो मानेले एक एक गोल गरे ।
खेलको तेस्रो मिनेटमा डीयाले गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै, ४१ औं मिनेटमा कोक्विनलिनले गोल गर्दै भिल्लालाई २–० को अग्रता दिलाए । ६२ औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई २–१ को स्थितिमा ल्याए । ६७ औं मिनेटमा लुइसले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि ७४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३–२ को जित दिलाए ।
खेलको ८५ औं मिनेटमा इट्टिनेले रातो कार्ड पाएपछि भिल्ला १० खेलाडीमा समेटिएको थियो ।
अब उपाधिका लागि लिभरपुलले म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ । सिटी र रियलबीचको सेमिफाइनल दोस्रो लेगको खेल बुधबार राति रियल मड्रिडको मैदानमा हुनेछ । पहिलो लेगमा सिटी ४–३ ले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्