काठमाडौं, चैत २२ । सरकारले ‘लकडाउन’को समय बढाएपछि काठमाडौं महानगरपालिकाले हरेक वडामा रहेका गरिब तथा विपन्न वर्गलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।
सरकारले गरिब तथा विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएपछि वडा कार्यालहरुले दैनिक ज्यालादारी गर्ने व्यक्ति र आयस्रोत कम भएकाहरुलाई निःशुल्क दाल, चामल, नुन, चिनीलगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेका हुन् ।
विपन्न वर्गहरुको खाद्यान्न लिन बिहानैदेखि नजिकैको वडा कार्यालयहरुमा भीड लाग्न थालेको छ ।
सरकारले विपन्न वर्गलाई मात्र राहत दिने घोषणा गरेपनि कतिपय स्थानहरुमा खाद्यान्न अभाव नहुनेहरु पनि राहत लिन पुगेका छन् ।
यसैगरी, पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा पनि राहत वितरण गरिएको छ ।
विकास कोषले खान खाना नपाएका ५०० भन्दा बढीलाई खाना खुवाएको छ ।
विकास कोषको नेतृत्वमा स्थानीय क्लबका युवाहरु पनि खाद्यान्न वितरण गर्न जुटेका छन् ।
खाद्यान्न वितरण यही चैत २५ गतेसम्म हुने पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।
क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क अस्पतालले क्षेत्रपाटीका हरेक घरहरुमा पुगेर निःशुल्क मास्क वितरण गरेको छ ।
बजारमा मास्कको अभाव भएपछि अस्पतालले नै घरघर पुगेर मास्क वितरण गरेको हो ।








प्रतिक्रिया दिनुहोस्