२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


धर्मश्रीको १६औं संस्करणको तयारी पूरा


130
Shares

काठमाडौं । शारीरिक सुगठन सम्बन्धि प्रतियोगिता धर्मश्रीको १६औं संस्करणको तयारी पूरा भएको छ ।

यही बैशाख २३ र २४ गते काठमाडौंमा हुने प्रतियोगिताको मुख्य प्रायोजन काठमाडौं महानगरपालिकाले गर्ने जानकारी सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

यस पटकदेखि विजेताको पुरस्कार राशी बढाएर १० लाख रुपैयाँ पुर्याइएको जानकारी पनि दिइयो । यस अघिको संस्करणमा पुरस्कार राशी ५ लाख थियो । २०१० मा स्थापित ब्यायाम मन्दिरले संस्थापक एवं सहिद धर्मभक्त माथेमाको सम्मानमा २०४२ सालदेखि धर्मश्री प्रतियोगिता गर्दै आईरहेको छ ।

यस पटकदेखि महिला तथा पुरुष फिजिक्स बिधा पनि थप गरिएको छ । प्रतियोगिताको ‘प्रि–जजिङ राउन्ड’ वैशाख २३ गते हुनेछ । फाइनल चरणका खेल वैशाख २४ गते हुने छन । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजी भन्दामाथि तौल समूहमा ४ सय खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिातका विजेताले १० लाख, उपविजेताले पाँचलाख, तेस्रो हुनेले दुई लाख पुरस्कार पाउनेछन् । यसैगरी प्रतियोगितामा चौथो हुने खेलाडीले एक लाख ५० हजार, पाँचौले एक लाख, छैटौँले ९० हजार र सातौं हुनेले ८० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रत्येक तौल समूहका उपविजेतालाई ४० हजार र तेस्रोलाई २५ हजार रुपियाँ प्रदान गरिनेछ । महिला फिजिक्स तर्फको विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख रुपियाँ खर्च हुने आयोजकले बताएका छन् ।