सिन्धुपाल्चोक । लिसंखुपाखर गाउँपालिकाले १० लाखको राहत कोष खडा गरेको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि यही चैत १६ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले १० लाखको राहत कोष खडा गर्ने निर्णय गरेको हो ।
राहत कोषमा जनप्रतिनिधिहरुले स्वेच्छिक रुपमा १० देखि १५ हजार जम्मा गरेको लिसंखुपाखर गाउँपालिका अध्यक्ष कमल नेपालले बताए ।
त्यसैगरी कोषमा पालिकामा काम गर्ने कर्मचारीहरुबाट ५ देखि ७ दिनको तलब जम्मा गरिएको छ । प्रदेश तथा संघीय सरकारलाई पनि कोषमा सहयोग गर्न आग्रह गर्ने पालिका अध्यक्ष नेपालले जानकारी दिए ।
त्यसैगरी पालिकाले यस विषम परिस्थितिमा काम गर्ने स्वास्थ्य कर्मचारीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ । ती कर्मचारीलाई राहत प्याकेज अन्तर्गत चैत र वैशाखमा ६० प्रतिशत भत्ताको व्यवस्था गरेकोे हो ।
पालिकाभर ६ स्वास्थ्यचौकी र एक स्वास्थय क्लिनिक छन् । ती स्वास्थ्य संस्थामा दरबन्दी पूग्ने भएतापनि पालिकाभर भएका सबै स्वास्थ्य दरबन्दीमा कर्मचारी अपुग रहेको उनले बताए ।
स्वास्थ्य संस्थामा औषधी र स्वास्थ्य सामाग्री भने पर्याप्त छन् । तर ज्वरो नाप्ने थम्रोगन नहुँदा थर्मोमिटरले नै ज्वरो नाप्ने गरिन्छ । यसका कारण कोरोना संक्रमणको जोखिम स्वास्थ्यकर्मीलाई रहेको छ ।
पालिकाभर १५ वटा पीपीइको व्यवस्था गरिएको छ । पालिकाले कोरोना नियन्त्रणको प्रयास स्वरुप १० बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।
लिसंखु पाखरमा रहेको प्रहरी चौकीको नवनिर्मित भवनमा पाँच र पाखरमा नवनिर्मित स्वास्थ्य चौकीमा पाँच बेडको क्वारेन्टाइन निर्माण गरिएको नेपालले बताए ।
आवश्यक पर्दा तत्काल क्वारेन्टाइन बनाउनकालागि केही विद्यालयहरुबारे अध्ययन गरिरहेको उनले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्