
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भएमा महानगरभित्रका आम नागरिकको चाहना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
वरिष्ठ कलाकार समेत रहनुभएका श्रेष्ठले महानगरपालिकावासीको मनोभावना र चाहना अनुसार काम गर्न आफूले राप्रपाबाट मेयरको उम्मेदवारी दिएको पनि बताउनुभयो ।
शुक्रबार चुनावका लागि आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै उहाँले विगतका जनप्रतिनिधिहरूले इमान्दार भएर काम गर्न नसकेकाले काठमाडौं महानगरपालिका फोहोरको डङ्गुरमा परिणत भएको उहाँको आरोप छ ।
यी समस्या समाधान गर्न आफू समक्ष हुने दाबी उहाँको छ । ६ महिना भित्र काठमाडौंलाई फोहोरमुक्त शहर बनाउने महत्वकांक्षी योजना उहाँको प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।
मेयरका उम्मेदवार श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्रमा काठमाडौंलाई भ्रष्टाचारमुक्त बनाउने, सार्वजनिक यातायातामा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क गर्ने, मठ, मन्दिर, पाटीपौवा, गुठीलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्ने उल्लेख गर्नुभएको छ ।
त्यसैगरी प्रत्येक वडामा निःशुल्क स्वास्थ्य चौंकीको स्थापना गरेर नागरिकको स्वस्थ जीवनका लागि काम गर्ने पनि उहाँको प्रतिवद्धता छ ।
प्रतिक्रिया दिनुहोस्