२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024


कालोसूचीमा रहेका व्यक्तिको उम्मेदवारी रद्द


585
Shares

काडमाडौं । निर्वाचन आयोगले मनोनयनका क्रममा देखिएका ११ प्रकारका विवाद टुंग्याएपछि उम्मेदवारको नामावली प्रकाशित गरेको छ ।

देशभरका निर्वाचन अधिकृतहरुले उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरी आयोगले बिहिबार राती अबेर नामावली प्रकाशित गरेका हुन् । त्यस क्रममा केही उम्मेदवारको मनोनयन रद्द भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले उम्मेदवारी मनोनयनका क्रममा उठेका ११ प्रकारका विवादमाथि सम्बोधन गर्दै विवादमा परेका मनोनयन रद्द गर्न निर्देशन दिएको थियो ।

त्यही आधारमा निर्वाचन अधिकृतहरुले उजुरी र त्यसक्रममा परेको विवाद टुंग्याएका हुन् । मनोनयनका क्रममा कतिपय स्थानीय तहमा एउटा दलले उही पदमा एक भन्दा बढी व्यक्तिका लागि मनोनयनपत्र दर्ता गराएका थिए । त्यस क्रममा दलहरुसँग सम्पर्क गरेर आधिकारिक उम्मेदवारलाई मान्यता दिने आयोगको निर्णय थियो ।

दलहरुले पत्र नदिएमा दुईमध्ये पहिले दर्ता भएकाले आधिकारिकता पाउने निर्णय गरेको थियो । कतिपय स्थानीय तहमा कुनै उम्मेदवारको प्रस्तावक, समर्थक रहेका व्यक्ति अर्को पदमा आफैंले उम्मेदवारी दिएको भेटिएको छ । आयोगले त्यस्तो अवस्थामा पहिलो उम्मेदवारलाई प्रस्तावक, समर्थक फेर्न निर्देशन दिएको थियो । अनि प्रस्तावक र समर्थक नै अर्को पदमा उम्मेद्वार भएको भए त्यसलाई रद्द गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले कालोसूचीमा रहेका व्यक्तिको उम्मेदवारी रद्द गरेको छ । अदालतबाट कसुरदार ठहर भएका तर सजाय भुक्तान नगरेका, बैंकको ऋण नतिरेका लगायतका व्यक्ति कालोसूचीमा छन् । निर्वाचन आयोगले ४० हजार जनाको नामावली भएको कालोसूचीको विवरण देशभरका निर्वाचन अधिकृतलाई बाँडेको थियो । जाँचबुझ अवधिभर कालोसूचीबाट नाम हटेकाको मनोनयन सदर भएको आयोगको भनाइ छ ।

निर्वाचन आयोगले बेरुजु भएका व्यक्तिको मनोनयन पनि बदर गरेको जनाएको छ ।