
प्रकाश मैनाली (इमेज)
सर्लाही, चैत २० । कोरोनाभाइरसको संक्रमणबाट बच्न देश ‘लकडाउन’को अवस्थामा छ ।
कोरोनाभाइरसको त्रासले सर्वसाधारण घरभित्रै बसेका छन् । तर, सर्लाहीका किसान अहिले खेतबारीमा काम गरिरहेको देखिन्छ ।
कोरोनाभाइरसको संक्रमणबाट नेपाली नागरिकलाई जोगाउन नेपाल सरकारले देशभरि लकडाउन गरेको छ । कोरोनाभाइरसको त्रासमा पनि सर्लाहीका किसान भने खेतबारीमा व्यस्त छन् ।
सबैजना घरभित्र बसेपनि यहाँका किसान भने खेतबारीमा गएर धमाधम काम गरिरहेका छन् । रोगको डर लागेपनि मास्क लगाएर किसानले काम गर्दै आएका छन् ।
ज्यानलाई जोखिममा राखेर भएपनि खेतमा बाली भित्र्याउन तथा लगाउन किसानको दैनिकी बनेको छ ।
मसुरो, चना, केराउ, खेसरीलगायतका बाली भित्रियाउनेबित्तिकै गहुँ काट्ने समय आउँछ । त्यसपछि लहरी काट्नुपर्ने समय हुने किसानहरु बताउँछन् ।
यो समयमा खेतबारीमा काम नगरे वर्षभरि के खाने भन्ने चिन्तामा आफूहरु रहेको किसान नमराज हुमगाइँ बताउँछन् ।
यसैगरी, उखु तथा मकै गोड्ने समय पनि यही भएकाले अहिले किसानलाई एक महिना फुर्सद नहुने किसानहरुको भनाइ छ ।
किसानको व्यस्त हुने समय भएपनि खेतबारीमा काम गर्दा दूरी कायम गर्नुका साथै बेलाबेलामा हात धोएर सावधानी अपनाउनुपर्ने डा. राकेशकुमार सिंह बताउँछन् ।
विश्वव्यापीरुपमा फैलिएको महामारी कोरोनाभाइरसको संक्रमणबाट बच्न हामी सबैले होसियार हुनैपर्छ । सावधानीपूर्वक किसानलगायत हामी सबैले काम गर्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्