
काठमाडौं । ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने घोषणा गरेको छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबै उडान स्थगित भएपछि एयरवेजले आफ्ना कर्मचारी र चालक दलका सदस्यहरुलाई निलम्बन गर्ने घोषणा गरेको हो ।
एयरवेजले उक्त निर्णय गर्नुअघि युनियनहरुसँग वार्ता गरेको बीबीसीले जनाएको छ । दुवै पक्षबीच सहमति भएपनि सम्झौतामा हस्ताक्षर हुन भने बाँकी रहेको बताइएको छ ।
एयरवेजले आफ्ना ८० प्रतिशतसम्म कर्मचारी कटौती गर्ने बताइएको छ । यो सम्झौताका कारण ग्याटविक र लण्डन सिटी विमानस्थलका कर्मचारीलाई असर पर्ने बताइएको छ ।
कोरोनाको संकट समाधान नभएसम्म एयरवेजले सबै स्थानमा आफ्ना उडान स्थगित गर्ने निर्णय यसअघि नै लागू गरिसकेको छ ।
अवकास पाएका कर्मचारीले बेलायत सरकारले अवलम्बन गरेको कोरोना भाइरस रोजगार अवधारणा योजनामार्फत आफ्नो पारिश्रमिक पाउने समाचारमा जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्