
विराटनगर, चैत १९ । कोरोना संक्रमण रोक्न सरकारले घोषणा गरेको ‘लकडाउन’को अवधिमा पनि अत्यावश्यक वस्तुको आपूर्ति पूर्वी नाका विराटनगरको रानीबाट नियमित सामग्री आपूर्ति भइरहेको छ ।
यस अवधिमा अत्यावश्यक वस्तुहरु डिजेल, पेट्रोल, ग्यास, खाद्यान्न, तरकारी, फलफूल आयात नियमित भइरहेको रहेको रानी भन्सार कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयका सूचना अधिकारी गोपी उप्रेतीले ९ दिनको अवधिमा रानी नाकाबाट सबैभन्दा बढी ६१ बुलेट ग्यास, ४० ट्यांकर पेट्रोल र डिजेल १८ ट्यांकर भित्रिएको जानकारी दिए ।
मकै दुई हजार ४६७ मेट्रिकटन, चामल १३६ मेट्रिकटन, गहुँ ६२ मेट्रिकटन र धान २६९ मेट्रिकटन आयात भएको कार्यालयले जनाएको छ ।
यस्तै, आलु ३०० मेट्रिकटन, प्याज ३१९ मेट्रिकटन, मिक्स भेजिटेवल सात मेट्रिकटन आयात भएको छ ।
सरकारले लकडाउनको अवधिमा कोरोना संक्रमणको रोकथामका लागि आवश्य मास्क, स्यानिटाइजर, सर्जिकल ग्लोब्स, औषधि तथा सोका कच्चापदार्थ र उपकरण भने यो अवधिमा आयात भएको कार्यालयले जनाएको छ ।
भन्सार कार्यालयले कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्दै अत्यवश्यक वस्तुहरु खाद्यवस्तु, पेट्रोलियम पदार्थ र एलपी ग्यासजस्ता वस्तु दुई घन्टाभित्रै जाँचपास गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्