३० असार २०८२, सोमबार | Tue Jul 15 2025


दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा राहतको घोषणा


0
Shares

नयाँदिल्ली, चैत १९ । भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको संक्रमण भएका बिरामीलाई सेवा दिनेक्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पीडित परिवारलाई एक करोड भारतीय रुपैयाँ दिने भएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहतस्वरुप एक करोड रुपैयाँ दिने घोषणा बुधबार गरेका हुन् ।

‘यदि कसैले कोरोनाभाइरसबाट संक्रमितको सेवा गर्नेक्रममा ज्यान गुमाएमा ती व्यक्तिको परिवारलाई एक करोड दिइनेछ’–उनले भने ।

कोरोनाभाइरसबाट संक्रमितलाई सेवा गर्ने सफाइ कर्मचारी, स्वास्थ्यकर्मीलगायतलाई उत्प्रेरणा र सम्मानस्वरुप सो रकम दिइने उनले बताए ।

मुख्यमन्त्री केजरीवालले यस्तो राहत रकम सरकारी तथा निजी दुवै क्षेत्रबाट खटिएकाहरुलाई दिइने पनि स्पस्ट पारेका छन् ।

‘मलाई थाहा छ, तपाईंहरूको सेवा अमूल्य छ । जे गरिरहनुभएको छ, त्यो तपाईंहरूले मानवताको आधारमा गरिरहनुभएको छ । त्यसक्रममा केही गरी अनिष्ट भएमा सम्मानस्वरुप यो रकम उपलब्ध गराइने भएको हो’–उनले भने ।

आफ्नो जीवन नै जोखिममा पारेर सेवामा खटिएका सबैप्रति जति सम्मान व्यक्त गरेपनि कमी हुने उनको भनाइ छ ।

मुख्यमन्त्री केजरीवालले पाचँओटा सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसँग भिडियो बैठकसमेत गरेका थिए ।

उनले डाक्टर र नर्सहरु हरेक दिन आफ्नो घर जान सम्भव नभएकाले पाँचतारे होटलमा बस्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।

स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक पर्ने ‘पीपीई’ पर्याप्त उपलब्ध गराउने पनि उनले विश्वास दिलाए ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार बुधबारसम्म कोरोनाभाइरसबाट संक्रमितको संख्या एक हजार ६३७ पुगेको छ । तीमध्ये एक हजार ४६६ जना अझैपनि बिरामी अवस्थामा छन् भने १३३ जना सन्चो भएर घर फर्केका छन् ।

त्यसैगरी, अन्य ३८ जनाको कोरोनाभाइरसको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस/एएनआई