
काठमाडौं, चैत १९ । सरकारले दैनिक ज्यालादारी मजदुरलाई ‘लकडाउन’ अवधिभर राहत उपलब्ध गराउने भएको छ ।
अर्थ मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै असंगठित क्षेत्रका श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने राहतसम्बन्धी मापदण्ड २०७६ जारी गर्दै सोहीअनुसार राहत उपलब्ध गराउनका लागि स्थानीय तहलाई लगत लिन निर्देशन दिएको हो ।
मापदण्डअनुसार पसलको सामान ओसार्ने, बाटोमा अत्यावश्यक सामग्री ओसारपसार गर्ने, टिपरमा मालवस्तु लोड/अनलोड गर्ने, कृषि मजदुर, निर्माण क्षेत्रका मजदुर, नाङ्लो पसले, ठेलागाडा तथा साइकलमा सामान ओसारपसार गर्ने, फुटपाथमा पसल चलाउने, रिक्सा तथा ठेलाचालक, दैनिक ज्यालादारीमा काम गर्नेहरुले राहत पाउने छन् ।
उनीहरुको परिचय खुल्ने कागजातको आधारमा विवरण तयार पार्न स्थानीय तहहरुलाई भनिएको छ ।
विवरण बुझाएपछि चामल ३० किलो, दाल तीन किलो, नुन दुई पाकेट, चिनी दुई किलो, खानेतेल दुई प्याकेट, साबुन चारओटा दिइने जनाइएको छ ।
राहत सामग्री प्राप्त गर्नका लागि झुटा विवरण पेस गर्नेलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने पनि जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्