Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्नेछ : अर्थमन्त्री


0
Shares

काठमाडौं, साउन २६ । विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।

सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी वासिङ्टन डिसीबाट शनिबार स्वदेश फर्केपछि अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

सो बैंकअन्तर्गत्को अन्तर्राष्ट्रिय विकास संस्थामार्फत् थप सहायता रकम उपलब्ध हुन लागेको हो ।

अमेरिकाबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले सन् २०१८ मा प्राप्त भइरहेको भन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

बैंकले नेपालमा हाल करिब रु दुई अर्ब ७० करोड डलर अर्थात् रु दुई खर्ब ७० अर्ब बराबरको लगानी विभिन्न आयोजनामा गरिरहेको छ ।

सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेकाले विश्व बैंक समूहका विभिन्न संस्थाका पदाधिकारीसँग महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए ।

नेपाल सरकार र विश्व बैंकबीच पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत् अन्तर्राष्ट्रिय विकास संस्थाले सहयोग बढाउने भएको हो ।

सन् २०१९ देखि २०२३ का लागि कार्ययोजना तयार भइ बैंकलेसमेत पारित गरिसकेको छ ।

‘हामीले समग्र कार्यक्रम र योजनाको ढाँचा तयार पारेका छौं । त्यसको लागत अनुमान पनि भएको सन्दर्भमा सहायता दोब्बर हुन्छ भनेर हामीलाई बताउनुभएको छ’–अर्थमन्त्री डा. खतिवडाले भने ।

नेपालले भूकम्पपछिको पुनःनिर्माणका लागिसमेत सो बैंकबाट थप सहायता ल्याउन प्रस्ताव गरेको छ ।

यस्तै, केही ठूला र बहुउद्देश्यीय परियोजनामासमेत लगानीको सुनिश्चितता खोजेको छ ।

यस्तै, संघीयता कार्यान्वयन र विकासका आवश्यकता पूरा गर्न बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग महत्वपूर्ण छलफल भएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

अर्थमन्त्री डा. खतिवडाले यही साउन २२ गते बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

उनले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराएका थिए ।

उनले नेपालले आर्थिक विकासका लागि लिएको रणनीतिकाबारेमा जानकारी गराउँदै ‘दीगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध’ रहेको उल्लेख गरेका थिए ।

यसैगरी, खतिवडाले विश्व बैंकका दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्ष हाटबिग सेफरसँग पनि भेटवार्ता गरेका थिए ।

भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अंगीकार गरेको संघीयता कार्यान्वयनका सन्दर्भमा राखेको जिज्ञासामा डा. खतिवडाले नेपालमा तीनै तहका निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भइ निर्वाचित भएका करिब ३६ हजार जनप्रतिनिधिमार्फत् जनताका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पस्ट पारेका थिए ।

नेपालका आर्थिक र सामाजिक क्षेत्र खासगरी पूर्वाधारमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै उनले यसमा सरकार निजी क्षेत्रसँग मिलेर कार्य गर्न तत्पर रहेको, संघीयताको व्यवस्थापन र विकासका लागि आन्तरिक साधन र स्रोतमात्र पर्याप्त नहुने भएकाले विश्व बैंकसँग नेपालले सार्थक सहयोगको अपेक्षा राखेको बताएका थिए ।

अर्थमन्त्रीसँग विश्व बैंकका ऊर्जा र वित्तीय कोषका निर्देशकलगायतका पदाधिकारीले पनि भेट गरेर ऊर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रसँगको सहकार्यमा गर्नसकिने लगानीकाबारेमा प्रकाश पारेका थिए ।

सो अवसरमा डा. खतिवडाले नेपालको तत्काल चालू आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमासमेत सहयोग गर्न अनुरोध गरेका थिए ।

यस्तै, भ्रमणकाक्रममा अर्थमन्त्री डा. खतिवडाले बैंकका कार्यवाहक प्रमुख अर्थशास्त्री शान्ता देवराजनसँग भेटवार्ता गरी नेपालले केही दशकअगाडि गरेका आर्थिक तथा वित्तीय सुधारका प्रयासबाट थप पाठ सिक्दै परिवर्तित सन्दर्भमा विभिन्न क्षेत्रमा नयाँ सुधारहरू थालनी गरेको जानकारी दिएका थिए ।

तीन दिनसम्म चलेको बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमन्डलको सहभागिता थियो ।

भ्रमणकाक्रममा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग, अन्तर्राष्ट्रिय मुद्राकोषका पदाधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

नेपालको विकासका साझेदारसँग उनीहरूबाट प्राप्त सहयोगको समीक्षा गरी थप सहयोगका क्षेत्रमा छलफल तथा निजी क्षेत्रका लगानीकर्तासँग नेपाल सरकारको आर्थिक नीति तथा लगानीका सम्भावनाकाबारेमा पनि विचार–विमर्श भएको उनले जानकारी दिए ।

अमेरिकास्थित नेपाली दूतावासको आयोजनामा विश्व बैंकमा ‘नेपाल डे’ पनि मनाइएको थियो ।

विश्व बैंक समूह र अमेरिकास्थित दातृनिकायका प्रतिनिधि सो कार्यक्रममा सहभागी भएका थिए ।

नेपालले विकासको अभूतपूर्व अवसर पाएको भन्दै उनीहरूले खुला हृदयका साथ सहयोग गर्ने बचन दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

उनले नेपालमा लगानीका लागि बैंक, साझेदार संस्था र अमेरिकी लगानीकर्ता उत्साहित भएको आफूले पाएको उल्लेख गरे ।

अर्थमन्त्री डा. खतिवडा नेतृत्वको नेपाली प्रतिनिधिमन्डल यही साउन १८ गते अमेरिका गएको थियो । रासस