म्याग्दी । सरकारले नदिएपछि म्याग्दीका स्थानीय तहले पीपीई आफैं मगाएका छन् ।
विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको रोकथामका लागि उपचारमा खटिने म्याग्दीका स्वास्थ्यकर्मीहरुलाई सरकारले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) पठाउन ढिलाई गरेपछि जिल्लाका ६ वटै स्थानीय तहहरुले आफैंले खरिद गरेर पीपीई उपलव्ध गराएका छन् ।
जिल्ला अस्पताल विकास समिति म्याग्दीको पहलमा स्थानीय तहहरुले आफ्नो खर्चमा पीपीई खरिद गरेका हुन् ।
अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष बेलबहादुर कटुवालका अनुसार बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र धौलागिरि गाउँपालिकाले पिपिई प्राप्त गरेका छन् ।
अझै ६० थान पीपीईको आवश्यक रहेको र केही दिन भित्रमा ती सबैलाई उपलव्ध गराइने अध्यक्ष कटुवालले जानकारी दिए ।
सरकारले सामग्री उपलब्ध नगराएकाले उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय तह र अस्पताल विकास समितिले बाहिरबाट नै पीपीई उपलव्ध गराएको बताइएको छ ।
त्यस्तै म्याग्दीको पाँचवटै गाउँपालिकामा ५०/५० बेड र बेनी नगरपालिकामा २ सय क्षमताको क्वारेनटाइन निर्माण गर्न निर्देशन दिइएको छ ।








प्रतिक्रिया दिनुहोस्