यही चैत ११ गतेदेखि देशव्यापी लकडाउन भएपछि सार्वजनिकरूपमा रहेका पशुपक्षी, चराचुरुङ्गीलगायत मर्ने अवस्थामा पुगेका हुन् ।
तिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएको खान्थे । लकडाउनपछि भोकै छन् ।
तिनीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ४३औँ कार्यपालिका बैठकले आहारको व्यवस्था गर्ने निर्णय गरेको हो । बैठकले वडामा पठाइएको रकमबाट खर्च गर्ने गरी उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ ।
प्रमुख शाक्यले भने “राहत वितरणलगायत कार्यका लागि केन्द्रले यसअघि नै ठूला वडालाई रु चार लाख, मझौला वडालाई रु तीन लाख र साना वडालाई थप निकासा दिएको छ । आवश्यक पर्यो भने पुनः थप गर्ने निर्णय भएको छ ।”
“कामपाको भित्री क्षेत्रमा बसोबास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्ति यसबेला खाना, खाजा नपाएर समस्यामा पर्नुभएको छ, यस्ता वर्गको पहिचान गरेर सबैलाई समान प्रकारको राहत उपलब्ध गराउन यस्तो मापदण्ड पारित गरिएको हो”, उनले भने ।
बैठकले पारित गरेको मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आयस्रोत नभएका, अनाथाश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिदजस्ता आश्रमस्थलमा रहेका अरुको सहयोग एवं सहारामा बाँचेका व्यक्ति असहाय हुन् । आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजारा गर्न धौधौ भएका र सम्बन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई अतिविपन्न परिवारमा राखिएको छ ।
त्यसैगरी सङ्गठित संस्थामा काम गर्नेबाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिकरूपमा ज्याला मजदुरी गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ ।
“लकडाउनपछि अहिले खाद्यान्न, ग्यासलगायतका सामग्रीको अभाव हुने हो कि भन्ने धेरैमा आशङ्का उत्पन्न भएको छ”, प्रमुख शाक्यले भने, “बैठकले यस्तो समस्यालाई समेत हल गर्न र भीडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा घरघरमा खाद्यान्न पुर्याउने, आपूर्ति व्यवस्थालाई सहज बनाउन सम्बन्धित निकायसँग छलफल गरी अघि बढ्ने पनि निर्णय गरेको छ ।”
बैठकले ५०० जनासम्मलाई राख्न मिल्ने क्वारेन्टाइनको व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने निर्णय गरेको छ । कोरोनाको सङ्क्रमणमाथि निगरानी बढाउन हिजो सार्वजनिक गरिएको प्रविधिमा आधारित प्रणालीलाई प्रभावकारी बनाउने बैठकले गरेको अर्को निर्णय हो ।
भित्री शहरी क्षेत्रमा चहलपहल कम गराउन थप कडाइ गर्ने पनि जनाइएको छ । यस क्रममा कामपाको सहयोगमा नियमित डाइलासिस गराउनुपर्ने मिर्गौलाका बिरामीले नियमित डाइलासिस गर्न नपाएर समस्या भएको विषय पनि चासोका साथ हेरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्