
काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण इटालीमा मात्र मृत्यु हुनेको संख्या करिव ११ हजार ६ सय पुगेको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि एकै दिन ८१२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । इटालीमा संक्रमितको संख्या एक लाख पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र इटालीमा कोरोनाका चार हजार ५० जना नयाँ बिरामी फेला परेको बताइएको छ । यस्तै स्पेनमा पनि एकै दिन आठ सय भन्दा बढीको मृत्यु भएको छ ।
योसँगै स्पेनमा मृतकको संख्या सात हजार तीन सय नाघेको छ । उता इरानमा पनि कोरोनाकाकारण दुई हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक दुरी बढाउने बारे संघीय सरकारले निर्देशिका जारी गर्ने बताएका छन् ।
उच्च स्वास्थ्य अधिकारीहरुले सरकारले कोरोनाको महामारी नियन्त्रणका लागि कडा कदम नचाले अमेरिकामा एकदेखि दुई लाखसम्म अमेरिकी नागरिकको मृत्यु हुनसक्ने चेतावनी दिएलगत्तै राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।
अमेरिकामा कोरोनाका कारण एक लाख पचास हजार भन्दा बढी संक्रमित भएको बताइएको छ । यो दर अन्य देशको तुलनामा अत्याधिक रुपमा वृद्धि भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यस्तै विश्वभर सात लाख ७५ हजार भन्दा बढी संक्रमितमध्ये एक लाख ६० हजार जना निको भएर घर फर्किएका छन् भने मृतकको संख्या ३७ हजार नाघेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्