
बर्लिन, चैत १७ । जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्टसमेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन् ।
प्रान्तीय गभर्नर भोल्कर बोउफियरकाअनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्टनजिकैको होखेमस्थित रेलवे ट्रयाकमा फेला परेको थियो ।
थोमस जर्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन डेमोक्रेटिक युनियनका सदस्यसमेत थिए ।
कोरोनाभाइरसबाट उत्पन्न आर्थिक संकटका कारण उनी केही समयदेखि निकै चिन्ता व्यक्त गरिरहेको प्रान्तीय गभर्नरले बताएका छन् ।
प्रहरी र अभियोजन अधिकारीहरुले प्रारम्भिक अनुसन्धानबाट थोमसले आत्महत्या गरेको निष्कर्ष निकालिएको बताएका छन् ।
बोउफियरले राज्यमन्त्री थोमस साफरको मृत्युका बारेमा भने-‘साफरले जहिल्यै आममानिसका ठूल्ठूला अपेक्षा पूरा गर्न सम्भव होला र भन्दै चिन्ता व्यक्त गर्नु हुन्थ्यो । मेरो अनुमानमा उहाँलाई तिनै चिन्ताले धेरै सतायो । र, त्यसबाट मुक्त हुने कुनै उपाय देख्नु भएन । उहाँ निकै चिन्तित हुनुहुन्थ्यो र हामीलाई छाडेर जानुभयो ।’
कोरोनाभाइरसका कारण सार्वजनिक जीवनमा परेको असर न्यून गर्न जर्मनीको संघीय र प्रान्तीय सरकारहरुले ठूलै आर्थिक प्याकेज घोषणा गरेका छन् ।
साफर एक दशकदेखि हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थिए ।
जर्मनीमा कोरोनाभाइरसका कारण ६२ हजारभन्दा बढी मानिस संक्रमित हुनुका साथै करिब ६०० व्यक्तिको मृत्यु भइसकेको छ । रासस/एपी
प्रतिक्रिया दिनुहोस्