
काठमाडौं, चैत १७ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा चार लाख ६२ हजार रुपैयाँ राख्ने भएको छ ।
सिप्यानले आयोजना गर्ने यस वर्षको एनसीसीएस सिप्यान क्रिकेट अवार्डको पुरस्कार रकम सबै कोरोना राहत कोषमा राख्ने जनाइएको हो ।
प्रेस विज्ञप्ति जारी गर्दै सिप्यानले कोरोनाका कारण स्थगित बनेको अवार्ड कार्यक्रमको पुरस्कार रकम कोषमा जम्मा गर्ने जनाएको हो ।
योसँगै यो वर्ष अवार्ड कार्यक्रम हुने छैन । अर्को वर्ष नयाँ संस्करण सुरु गरिने सिप्यानले जनाएको छ ।
सिप्यानका अध्यक्ष डा. मनिषराज पाण्डे र महासचिव एवं राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले हस्ताक्षर गरेको विज्ञप्तिमा अग्रपंक्तिमा रहेर यो संकटको प्रत्यक्षरुपमा सामना गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुसहित सम्बद्ध सबैको योगदानप्रति सम्मानसमेत व्यक्त गरिएको छ ।
यही चैत २१ गते हुने तय भएको दोस्रो संस्करणको सिप्यान क्रिकेट अवार्ड चैत २ गते नै कोरोनाको प्रभावको कारण देखाउँदै अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्