
काठमाडौं । कोरोना भाइरस संक्रमणको प्रभावका कारण हेटौंडा औद्योगिक क्षेत्रमा रहेका करिब ८० प्रतिशत उद्योग बन्द भएका छन् ।
सरकारको निर्णयानुसार आ्रद्योगिक क्षेत्रमा अति आवश्यक र खाद्यान्न उद्योगमात्र सञ्चालनमा रहेका छन् ।
दूग्ध, साबुन, कुकिज र प्लास्टिक प्याकेजिङ उद्योगहरु सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुख राजेन्द्र कँडेलले जानकारी दिए ।
हाल सञ्चालनमा रहेका अधिकांश उद्योगहरु पनि बिहानीसत्रमा मात्र सञ्चालन भएका छन् ।
बजारको मागमा आएको कमी र तेस्रो मुलुकबाट ल्याउनुपर्ने कच्चा पदार्थको आयात ठप्प भएसँगै उद्योगहरुले उत्पादनमा कटौती गर्दै लगेका छन् ।
कोरोना भाइरसका कारण कच्चा पदार्थ आयात र बजारीकरणमा प्रभाव परेको भन्दै उद्योग संघ हेटौंडाले सरकारले बैंकको ब्याज छुट तथा किस्ता तिर्ने मिति थप गर्नुपर्ने माग गरेको छ ।
हेटौंडा–९ मा रहेको औद्योगिक क्षेत्रमा रहेका एक सय ११ उद्योगमा करिब पाँच हजार मजदुर कार्यरत छन् ।
सञ्चालनमा रहेका सबै उद्योगले कोराना संक्रमणलाई मध्यनजर गर्दै आउजाउ गर्ने सबैको गेटमै शरीरको तापक्रम नाप्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्