गठबन्धन दल सकसमा « Imagekhabar – Online News Portal of Nepal


गठबन्धन दल सकसमा

आफ्नै बलबुँतामा चुनाव लडन कार्यकर्ताको दवाब

689
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर पालिकाको भागवण्डा मिलाउन बसेको सत्तारुढ गठबन्धनको निर्वाचन तयारी तथा अनुगन संयन्त्रको बैठक विना निष्कर्ष टुंगिएको छ ।

बैठकमा दलहरुले आफ्नो तर्फबाट महानगर र उपमहानगरको दाबेदारी प्रस्तुत गरेका थिए । शीर्ष नेताहरुको बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेल संयोजकत्वको तयारी तथा अनुगमन संयन्त्रको आइतबार अपराह्न बसेको बैठकमा तालमेलको प्रयास भए पनि सहमति जुट्न सकेन ।

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका र चार उपमहानगरपालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । काठमाडौं, ललितपुर र विराटनगर नेपाली कांग्रेसले लिएर तीन वटा अरु दललाई दिन माओवादीले प्रस्ताव गरेको थियो । भरतपुर आफुले, वीरगञ्ज जनता समाजवादी पार्टी र पोखरा एकीकृत समाजवादीले लिनु पर्ने माओवादीको प्रस्ताव छ ।

११ उपमहानगरपालिकामध्ये जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्वमा माओवादीको दाबी छ । त्यसैगरी एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ ।

महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । इटहरी, हेटौंडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगञ्जको उपमेयरको उम्मेदवारहरु आफूहरुलाई चाहिने एकीकृत समाजवादीको दाबी छ ।

बैठकमा संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वभाविक दाबी गर्न नहुने र पार्टीको समर्थनको ठूलो पंक्ति हुन्छ भन्ने बिर्सन नहुने बताउनुभएको थियो ।