१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


नेपाल एयरलाइन्सले साउदीको रियादमा सिधा उडान गर्दै


156
Shares

nepal airlines

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ ।

वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स्ले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो ।

निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं–रियाद–काठमाडौं सातामा दुई उडान गर्ने छ । सातामा तीन दिन उडान गर्ने योजना रहेपनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने उहाँले जानकारी दिनुभयो ।

नेपाली कामदारको बाहुल्य रहेको साउदी अरबको उडानले निगमलाई आर्थिक रुपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । निगमको रियाद उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो ।