
-संजिव कार्की
तेस्रो विश्वयुद्धको त्रासदी छनक दिने कोरोना भाइरससँग लडन कुनै हतियार झिक्नु पर्दैन् । मिसायल, बम, बारुद र रकेट लन्चर आवश्यक छैन । आवश्यक छ हाम्रो धैर्यता सावधानी र सतर्कता । घरमा बसेर हतियार नलिइ, श्रम र परिश्रम बिना नै लडन सकिने लडाई हो कोरोना भाइरस १९ विरुद्दको लडाई । यो भद्र युद्द हो । यसको विरुद्द लडन चाहिने सबै ठूलो हतियार हो धैर्यता र आत्मअनुशासन हो । विश्व मानव सामुदायको रक्षा र संरक्षण गर्न मर्छु र मार्छु भनेर भिड्नु पर्दैन । केवल धैर्य रहेर, सफा सुग्घर बनेर कोरोनामुक्त बन्ने उपाय गरेर मानव रक्षार्थ योगदान गर्न सकिन्छ । मानव जातीको रक्षा गर्ने मौका हर जिम्मेवार नागरिकको काँधमा आएको छ यतिबेला घरमा बस्नु भनेको कोरोना भाइरसरुपी वैरीलाई सिध्याउनु हो । घरमा पस्न र बस्न भाइरसलाई नदिनु हो यसको अस्तित्वलाई ललकार्नु हो ।
प्रथम विश्व युद्ध र दोस्रो विश्व युद्ध हुँदा विश्व दुई ध्रुवमा विभक्त भएर लडेको थियो । तर यो पटक राज्य राज्यसँग होइन ,व्यक्ति व्यक्तिसँग होइन , सिंगो मानव समुदाय र मानव अस्तिव कोरोना नामधारी जीवाणुसँग लड्नु परेको छ । मान्छेले आफ्नो वैरी भाइरसलाई सम्झनु परेको छ । कोरोना भाइरस (कोभिड १९) अहिले बुलेट ट्रेन भन्दा पनि तीव्र गतिमा मानव बस्तीमा पसेको छ । अनियन्त्रित तुफान, आँधी र हुरी बनेर यो हामीमाथि आक्रमण गर्न लागेको छ । चीनको बुहानाबाट फैलिएको भाइरस अहिले विश्वका प्रायः सबै राष्ट्रमा आफ्नो उपस्थिति मात्र देखाउँदै छैन हामीलाई पलपल मार्ने साइलेन्ट साउण्डमा देखिएको छ । चीनको बुहनामा यसको जोर नचलेको हुँदा अहिले इटाली स्पेन, कोरिया, जापान लगायत देशमा चरम आतंक मच्चाएर नरसंहारमा उद्दत छ । आतंकको कालो छाया र भयावह मृत्यु बनेर विश्व भ्रमणमा छ ।
धेरै देश यसको अकल्पनीय स्थितिको साक्षी र भोक्ता बनेर पीडित बनेका छन् । यसको सामान्य उपस्थितिलाई नजर अन्दाज गरेकै कारण आज इटाली, स्पेन जस्ता देशहरु यसको चरम आक्रमणमा छन् भने संसारभर यसको गति र बेग बुलेट गतिमा आक्रामक भएर आएको छ यसको संक्रमणमा बेलायती युवराज चाल्स समेत परेको र इटलीमा मेयर देखि उच्च पदस्त महाशक्तिशाली रास्ट्रका व्यक्तित्वहरु परेकोबाट यसले कसैलाई पनि छोड्दैन भन्ने बुझ्नु जरुरी छ । जुनसुकै देश ,जुनसुकै राष्ट्र र जुनसुकै उमेर समुह पनि कोरोना भाइरसको तारो बन्ने निश्चित छ । अतः हाम्रो प्रयास यसको फैलावटलाई रोक्न यसको समिप नपुग्नु हो ।
संक्रमित व्यक्ति, सीमा र क्षेत्रभन्दा पर अर्थात् टाढा बस्नु हो । सुरक्षित भएर घर भित्र रहनु हो । अनियन्त्रित तुफानको गतिमा यो फैलने हुँदा यसबाट बच्न सुरक्षित स्थलबाट बाहिर नजानु हो । आत्म अनुशासन नै कोरोनाको भरपर्दो औषधी हो । संयम र धैर्यता राखेर जहाँ बसेको हो त्यहि सुरक्षित र सफा सुघर रहेर उच्च मनोबल, दृढ आत्मविश्वास अनि कडा आत्मानुशासन नै कोरोना भगाउन यसको स्पर्शबाट बच्ने उत्तम उपाय हो । अनावश्यक भय र आतंकबाट बचेर निर्देशित अनुसाशनमा आफू रहनु र आफ्नालाई पनि राख्न मदत गर्नुले कोरोनाको फैलावट रोक्न सहयोग गर्छ ।
हर कोही व्यक्तिले आफुलाई सहयोग गर्नु भनेको समाज, देश अनि विश्व मानव समुदायलाई सहयोग गर्नु हो । मानवताको लागि हातेमालो भनेको आफू जोगिएर अरुलाई जोगाउनु पनि हो । विश्वलाई चुनौती मानव समुदाय र मानव सभ्यता जीवित राख्न कोरोना भाइरस माथि विजय पाउनु रहेको छ । जसको लागि आविष्कारकहरु, वैज्ञानिकहरु मथिंगल खियाइरहेका छन्, परीक्षण गरिरहेका छन् । अनुभव साटासाट गरिरहेछन । आशा छ पल भरमा विश्व सखाप पार्न सक्ने अणु र परमाणु बम आविस्कार गर्ने मस्तिस्कले कोरोना भाइरसलाई खत्तम पार्ने ओखती पत्ता लगाउने छ र मानव नरसंहार गर्ने भाइरसलाई आफ्नो सामर्थ्य देखाउने छ ।
त्यतिबेलासम्म आम सर्वसाधारणले राज्यलाई सघाउनुपर्ने हुन्छ । त्यो सहयोग घर भित्र बसेर गर्न सकिन्छ । घर भित्र बसेर बिना हतियार शत्रुलाई आफ्नो किल्लामा आवागमन गर्न नदिएर परास्त गर्न सकिन्छ । कुनै पनि युद्द यति सहज र सबल छैन जति कोरोना बिरुद्दको युद्द छ । यो युद्द लडन र जित्न प्रत्येक नागरिक योद्दा हो, लडाकु हो, फौजी हो । यहाँ सिपाही बनेर युद्धको मोर्चामा आम नागरिक रहेका छन् । विश्व मानव समुदायको एक मात्र घोषित शत्रु यतिबेला कोरोना भएको छ । प्राण घातक कोरोना भाइरस विरुद्द लड्नु सबै मान्छेको सामुहिक दायित्व हो । हामी नेपालीले इटाली लगायत देशको अनुभवबाट सिकेर सामान्य अवस्थामा हेलचेक्र्याइँ गर्यौ भने असामान्य र कल्पना भन्दा बाहिरको परिदृश्यको सामना गर्नपर्ने हुन्छ ।
कोरोनाको संक्रमण यदाकदा देखिंदा गम्भीरता र संवेदनशीलता देखाउन नसकेको कारण इटाली आज पश्चातापको ज्वालामा कोरोनासंगै जलिरहेछ पीडामा विव्हल छ । एक महिना अघि इटाली गम्भीर बन्न नसकेको र खेलाँची गरेको कारण आज महामारीको चपेटामा छ । हामी नेपाली पनि इटाली र चीनको अनुभवबाट सिक्ने चेस्टा गरेनौं भने सम्भावित महाविपत्ती र दुर्घटनाबाट बच्न सक्दैनौं । चीनको झैँ अनुशासन अबलम्बन गर्ने अनि इटलीको महामारी फैलनुको कारण बुझेर समाधान खोज्ने हामी नेपाली सम्भवत यो पुस्ताले दुई भयानक विपत्तिका साक्षी र भुक्तभोगी हुने दुर्भाग्य पायौं ।
भूकम्प जसले घर बाहिर पठायो । कोरोना जसले घर भित्र बस्न कर गर्यो । यी दुवै घटनाबाट हामीले सिक्नुपर्ने र अबलम्बन गर्नुपर्ने कुरा धेरै छन् । बिपत्ती ढोल पिटेर नआउने भएकोले संसार भएका र हुँदै गरेका घटनाक्रम हेरेर सिक्नुपर्छ । सतर्कता, साबधानी र सचेतता आजको प्रमुख औषधी हो । संकटको घडीमा सत्तापक्ष र प्रतिपक्षमा विभक्त बन्नुहुन्न । विश्व नै यतिबेला सम्पूर्ण मानव अस्तित्वमा प्रश्न चिन्ह खडा भएर एक छ । सम्पूर्ण मानव एकातिर र कोरोना अर्कोतिर भएको बेला हामी पनि विभाजित छैनौं । आपदविपद, अप्ठ्यारो र असहजता नै सबैभन्दा पहिले प्रहार गर्नुपर्ने बैरी हो । प्रधान शत्रु कोरोना हो । जुटने बेला फुट्ने र लुट्ने कालो बजारी गर्नेलाई, जंगे कानुन पांचजना साक्षी राखेर मुला काटे झैँ….भन्दा पाप लाग्दैन । मानवीय धर्म र मर्म नभुलौं ।
सरकार पनि गाली खान योग्य नबनोस । सरकार सरकार जस्तो होस् । सजिलोसँग भेटिने र छोइने समन्वयकारी भएर प्रस्तुत बनोस । सबै राजनीतिक पार्टी कर्मचारी नागरिक जिम्मेवार र जबाफदेही बन्न सकुन । कोरोना बिरुद्द फ्रन्ट लाइनमा बसेर युद्ध गर्ने डाक्टर, नर्सलगायत सबै स्वास्थ्यकर्मीहरु अनि सुरक्षा फौज, सूचना सम्प्रेषण गर्ने पत्रकार सबैलाई व्यक्तिगत सुरक्षा अस्त्रले सुसज्जित पारियोस । घरघरमा बसेर नागरिकले कोरोना बिरुद्द नशस्त्र युद्द गरौं प्रार्थना गरौ, आत्मवल उच्च राखौं । बचेर बचाएर सहयोगी हात बढाऊ । जीवन रहे जगत पछि हेर्न र देख्न सकिन्छ । घर घरमा रहेर नै कोरोना बिरुद्दको युद्द जित्न सकिन्छ ।
अहिले लकडाउनमा हामी छौं । आज तीन दिन अरु कति दिन लक डाउन लम्बिने छ । मानसिक तयारी गरौ । भयाबह र बिकराल दु?खद स्थितिको सामना गर्नुभन्दा आजको असहजता अर्थात् घरभित्र बसेर लडिने युद्द नै जाती हैन र ? थोरै असहजतामा हामीले आत्म अनुशासन र संयमता गुमायौ भने भोलि आउने बिकराल स्थितिको महा विपत्तिको कारक हामी आफै बन्ने छौ । कर्तब्य नबिर्सौ । आफ्नो कर्तव्य र दायित्व सम्झेर कोरोनामुक्त बन्न राज्यलाई आफ्ना तवरबाट सहयोग गरौं बाँच्न पाए सिंगो संसार रहन्छ नि । सम्पूर्ण मानवको बाँच्न पाउने हक सुरक्षित गर्ने दायित्व हाम्रो नियम र अनुशासनको पालनामा पनि छ ।
प्रतिक्रिया दिनुहोस्