
तनहुँ । कोरोना भाइरसको त्रासको परवाह नगरी तनहुँका किसानहरु यतिबेला खेतबारीमा व्यस्त छन् ।
चैते धानको सिजन सुरु भएसँगै किसानहरु खेतवारीमा व्यस्त भएका हुन् ।
कोरोना भाइरसको संक्रमणले विश्वलाई त्रसित बनाए पनि यहाँका कृषकहरु त्रासबाट मुक्त हुनका लागि दैनिक कृषि पेशामा खटिएका हुन् ।
यतिबेला जिल्लाका विभिन्न फाँटहरुमा चैतेधान रोप्नको लागि किसानलाई भ्याइनभ्याइ छ ।
तनहुँको चुँदीफाट, सागेँफाट, म्याग्दे, जामुने, घासिकुवा क्षेत्रको पोल्याङ क्षेत्र, रिस्ती फाँट लगायतका स्थानमा यतिबेला चैते धान रोप्न भ्याइनभ्याई भएको हो ।
तनहुँमा १ रोपनी क्षेत्रफलमा ५ टन चैतेधान उत्पादन हुने गरेको छ । पछिल्लो समय कृषकहरु गोरुको सट्टामा ट्याक्टरको प्रयोग गरेर धान रोप्ने गरेको स्थानीय बताउँछन् ।
तनहुँको व्यास नगरपालिका वडा नम्वर ११ घाँसीकुवा पोल्याङ्ग क्षेत्रमा चैते धान लगाइन्छ ।
५१ हजार पाँच सय १० हेक्टर क्षेत्रफल रहेको तनहुँमा कुल खेतीयोग्य जमिन मध्ये ६ हजार तीन सय ४७ हेक्टर क्षेत्रफलमा बाह्रैमहिना सिंचाई सुविधा भएको र सात हजार दुई सय ३६ हेक्टर क्षेत्रफल भने मौसमी सिँचाईबाट धान रोपाइ हुने गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्