
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को आज (शुक्रबार) काठमाडौंमा सुरु भएको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले उच्चस्तरीय शैक्षिक संस्था निर्माण गरी विदेशी विद्यार्थीका लागि समेत अध्ययनको गन्तव्य बनाउन आग्रह गर्नुभयो ।
विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको लगानी परिणाम निकाल्न सकिने उहाँको भनाइ छ । उहाँले स्वदेशमै उच्च शिक्षा दिनसके स्वावलम्वी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभएकाे छ ।
त्यस्तै, कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले निर्माण गरेका विश्वविद्यालयलाई आफ्नै विश्वविद्यालय ठानेर हेलचेक्राँई नगर्न संस्थाका नेतृत्वसँग आग्रह गर्नुभयो । उहाँले व्यवस्थापकी पक्षले नियमनमा गम्भीर असर परिरहेको समेत बताउनुभएकाे छ ।
उच्च शिक्षालाई नियमन र व्यवस्थित बनाउन सरकार लागि परेको मन्त्री पौडेलको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्