२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


म्यानचेस्टर सिटी र लिभरपुल विजयी


234
Shares

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलका क्वाटरफाइनल पहिलो लेगका खेलहरुमा इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।

मंगलबार राति भएको इंग्ल्याण्डको म्यानचेस्टर भएको खेलमा सिटीले स्पेनको एथ्लेटिको मड्रिडलाई १–० ले हराएको छ । सिटीको जितमा केभिन डे ब्रायनले निर्णायक गोल गरे ।

खेलको ७० औं मिनेटमा ब्रायनले निर्णायक गोल गरे ।

मंगलबार राति भएको अर्को खेलमा लिभरपुलले पोर्चुगलको बेन्फिकामाथि ३–१ को जित निकालेको छ । लिभरपुलको जितमा इब्राहिमा कोनाटो, साडियो माने र लुइस डियाजले एक एक गोल गरे । पराजित टोली बेन्फिकाको लागि डार्विन नुनेजले एक गोल फर्काए ।

खेलको १७ औं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई दोब्बर अग्रता दिलाए । ४९ औं मिनेटमा बेन्फिकाका नुनेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ८७ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

च्याम्पियन्स लिग फुटबलका क्वाटरफाइनलका अन्य दुई खेल आज राति हुनेछन् । आज इंग्ल्याण्डको चेल्सी र स्पेनको रियल मड्रिड भिड्दा अर्को स्पेनिस क्लब भियारियालले जर्मनीको बार्न म्युनिखको सामना गर्नेछ ।