
काठमाडौं । यस वर्षको वसन्तयामको सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि २२ आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार ३१ मार्चसम्म २२ आरोहण दललाई आरोहण अनुमति जारी गरेको हो ।
यसमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि मात्रै पाँच समूहले अनुमति लिएका छन् । यस्तै, अन्नपूर्ण आरोहणका लागि चार, अमादब्लममा एक, ल्होत्सेमा एक, कञ्चनजंघामा एक र धौलागिरि हिमाल आरोहणका लागि एक आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
त्यसैगरी मिलुङ चुलीका लागि दुई, नुप्सेका लागि दुई, भेम्दोङ्ग, गङ्गापुर्न र थापा पिकका लागि समान एक समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।
सबै हिमाल तथा पिक गरेर २२ टिमका ३७ महिला र ११६ पुरुष गरी १५३ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ ।
ती हिमाल तथा पिक आरोहणबाट पाँच करोड ६१ लाख ४४ हजार ५५० रुपैयाँ रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्