काठमाडौं । एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी भेटिएका हुन् । उनीहरूलाई पक्राउ गरेर ल्याउने काम भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार काठमाडौं र भक्तपुर जिल्लाबाट पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
‘हामीले पाँच जना नक्कली परीक्षा समाएका छौं, अहिले भेरिफाइ गर्ने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘पक्राउ परेकाहरूलाई महाशाखा ल्याउने काम पनि भइरहेको छ, केही समयमा यकिन तथ्याङ्क आउँछ ।’
चिकित्सा शिक्षा आयोगले शुक्रबारदेखि चिकित्सा अध्ययनका लागि प्रवेश परीक्षाको परीक्षा सञ्चालन गर्दै आएको छ । पक्राउ परेका मध्ये केही नक्कली परीक्षार्थी नै छन् भने केही परीक्षार्थी नै भएका तर, अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । स्नातक तहको एकीकृत प्रवेश परीक्षा शुक्रबारदेखि आइतबारसम्म तीन दिन हुनेछ ।
स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षार्थी सहभागी हुनेछन् ।
पहिलो दिन १९ हजार ५०८ जना परीक्षामा सहभागी भएका छन् । त्यसका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मात्र परीक्षा केन्द्र तोकिएका छन् ।
परीक्षाका लागि उपत्यकामा १११ परीक्षा केन्द्र तोकिएको आयोगले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्