२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


कोरोनाको संत्रास : ज्यालादारी मजदुरको बिजोग, काम नपाएर भरियाहरु भौतारिँदै


0
Shares

-नविन शर्मा र लक्ष्मणमान डंगोल(ईमेज)

काठमाडौं । कोरोना भाइरसका कारण बजारमा सामग्री नआएपछि व्यापार घट्दो छ । यसको प्रत्यक्ष असर दैनिक मजदुरी गर्ने श्रमिकहरुमा पनि परेको छ ।

सामान नआएर बजार ठप्पजस्तै भएपछि दैनिक ज्यालादारी गरेर जिवन गुजारा गर्दै आएका भरियाहरु यतिबेला फुसर्दिला भएका छन् ।

अरुबेला दैनिक एक हजारसम्मको हाराहारीमा कमाउने भरियाहरुलाई आजभोली दुई सय रुपैयाँ कमाउन पनि कठिन छ ।

दिनभरी लत्ताकपडा, जुत्ता चप्पल, झोला र विद्युतीय सामग्रीका बोरा बोक्न भ्याइनभ्याइ हुनेहरु अहिल निराश देखिन्छन् ।

काठमाडौंको महाबौद्ध, प्युखा, इन्द्रचोक, असन र बसपार्कलगायतका होलसेल बजारतिर काम गर्ने भरियालाई भ्याइनभ्याइ हुने गर्दथ्यो ।

तर यतिबेला श्रमिकहरु बजारमा कसले भारी बोक्न बोलाउला भनेर आश गरिरहेका छन् ।

सामान नभएर व्यापारीहरुका गोदाम नै रित्ता भइसकेकाले आफूहरु ठूलो संकटमा परेको गुनासो भरियाहरुको छ ।

कोरोना भाइरसका कारण नेपालमा सामान आउने नाका बन्द भएकाले होलसेल बजार सुक्दै गएका छन् ।

भारी बोकेरै परिवारको दायित्व निर्वाह गर्नुपर्नेहरु काम नपाएपछि अबत घर फर्किनुको बिकल्प नभएको दुःखेसो गर्छन् । अब त भारी बोक्न नपाइने हो कि भन्ने चिन्ता उनीहरुलाई छ ।

बजारमा सामान नआएपछि शहरका अधिकांश गोदामहरु बन्द भएका छन् ।

कोरानाले प्रत्यक्ष रुपमा व्यापार व्यवसाय, होटेल, लज, रेष्टुरेण्ट, पर्यटन लगायतका क्षेत्रमा प्रत्यक्ष असर परेपछि श्रमिकहरुको जिवनयापनमा ठूलो संकट देखिएको छ ।

काम नपाएपछि उपत्यकाबाट बाहिर जानेहरुको संख्या ह्वात्तै बढेको छ । उपत्यकाबाट लाखौंको संख्यामा घर फर्किनेहरुको लर्को बसपार्क र नाकाहरुमा देखिन्छ ।

यस्तै घर फर्किनका लागि टिकट लिनेहरुको घुइँचो पनि उत्तिकै छ । घर फर्किनेहरुको संख्या बढेसँगै काठमाडौं उपत्यका सुनसान हुन थालेको छ भने माइक्रोबस र बस स्ट्याण्डहरुमा यात्रुहरु पनि निकै कम देखिन थालेका छन् ।

सरकारले अचानक स्कूल र कलेजहरु पनि बन्द गरेपछि उपत्यकाबाट बाहिर जानेको संख्या बढेको हो ।

मौकाको फाइदा उठाउँदै तोकिएको भन्दा बढी मुल्यमा टिकट किन्न बाध्य हुनुपरेको यात्रु्को गुनासो छ । संकटका बेला सरकारले केही गर्छ भन्ने आशा नेपालीहरुलाई छैन ।

त्यसैले विश्वमा महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसको त्रास नरोकिएसम्म नेपालीहरुले आफू सुरक्षित भएर धैर्य गुर्नुको विकल्प छैन ।