
काठमाडौं, चैत ७ । नेपाल बैंकर्स एसोसिएसनले ‘कोरोना’ रोक्ने सरकारी नीतिअन्तर्गत् रही कोरोना जोखिमलाई न्यूनीकरण गर्नका लागि सुरक्षालाई थप प्रभावकारी बनाइएको दाबी गरेको छ ।
बैंकमा धेरै मानिसहरु भेला हुने स्थान भएकोले जोखिम बढ्न सक्ने भन्दै विद्युतीय कारोबारमा जोड दिन पनि संघले आग्रह गरेको छ ।
यसका साथै संघले शनिबारबाट लागू हुनेगरी अन्तरबैंक कारोबारलाई पनि सहजीकरण गरी जुनसुकै बैंकको ‘एटीएम’ प्रयोग गरी रकम निकाल्दा कुनैपनि शुल्क नलाग्ने जनाएको छ ।
संघले सेवाग्राहीहरु टाढा जाँदा उनीहरुमा थप जोखिम बढ्न सक्ने हुनाले विद्युतीय कारोबार गर्न जोड दिनुपर्ने बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।
शाखाहरुमा भीडभाड कम गर्न तथा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले कुनैपनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनैपनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने, नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने ‘कनेक्ट आइपीएस’ सेवा शुल्क नलाग्ने व्यवस्था संघले गरेको हो ।
यी सुविधामा शुल्क नलाग्ने व्यवस्था अर्काे सूचना प्रकाशित नहुन्जेलका लागि उपलब्ध हुने शर्माले बताए ।
यस्तै, बैंकले कुनैपनि दिन बैंक बन्द नहुने पनि जनाएको छ । बैंकले सकभर घरमै बसेर अनलाइन कारोबार गर्नसमेत सुझाएको छ ।
प्रतिक्रिया दिनुहोस्