बारा । विभागीय टिम नेपाल एपिएफ क्लब जीतपुर-सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबाई ४–१ ले पन्छाउदै एपिएफ फाइनलमा प्रवेश गरेको हो ।
एपिएफले अब उपाधिका लागि न्युरोड टिम (एनआरटी) क्लबसंग शनिबार खेल्ने छ ।
आयोजकलाई ३–२ ले पराजित गर्दै एनआरटी यसअघि नै प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।
फाइनल यात्रा तय गर्ने क्रममा एपिएफका लागि अर्माण्ड बेडमले दुई गोल गरे भने सविन गुरुङ र प्रदीप लामाले एक–एक गोल गरे । बागमतीका लागि भने अनिल राना मगरले गोल फर्काए ।
बिएफसी चितवनलाई २–१ र साविक बिजेता संकटा क्लबलाई १–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको बागमतीलाई उपाधि दावेदारका रुपमा हेरिएको थियो । तर महत्वपूर्ण सेमिफाइनल खेलमा ए डिभिजनको विभागीय टिम एपिएफसँग आकर्षक खेल प्रदर्शन गर्न नसकेपछि बागमती अन्तिम चारबाटै घर फर्कन बाध्य भएको हो ।
एपिएफको जितमा उत्कृष्ट प्रदर्शन गरेका प्रदीप लामा खेलको म्यान अफ दि म्याच घोषित भए । एपिएफ जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको यो दोस्रो पटक हो । यसअघि दोस्रो संस्करणमा फाइनलमा प्रवेश गरेको एपिएफ हिमालय शेर्पासँग पराजित हुँदा उपविजेता बनेको थियो ।








प्रतिक्रिया दिनुहोस्