Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


पश्चिमा देशलाई आजदेखि ग्यास आपूर्ति बन्द गर्ने रुसी राष्ट्रपति पुटिनकाे चेतावनी


3.2k
Shares

काठमाडौं । पश्चिमा देशलाई आज (शुक्रबार) देखि ग्यास आपूर्ति बन्द गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन ।

युक्रेन र रुसबीच युद्ध सुरु भएको ३७ दिन पूरा भईसक्दा पनि रुसले पश्चिमा देशहरुलाई इन्धन आपूर्ति बन्द गर्ने चेतावनीसहित अल्टिमेटम राष्ट्रपति पुटिनले दिएका हुन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज (शुक्रबार) देखि युरोपसहित पश्चिमा देशहरुलाई दिंदै आएको प्राकृतिक ग्यास बन्द गर्ने चेतावनी दिएका छन।

युक्रेनसँगको युद्ध लम्बिंदै जाँदा पुटिनले युक्रेनका सहयोगी देशहरुमाथि दबाव बढाउने रणनीति लिन थालेको छ । प्राकृतिक ग्यास निर्यात सम्बन्धि आदेशमा हस्ताक्षर गर्दै पुटिनले रुसी मुद्रा रुबलमा कारोबार नगर्ने देशहरुलाई ग्यास लगायतका इन्धन आपूर्ति बन्द गर्ने बताएका हुन् । त्यसका लागि एक रातको समय दिंदै पुटिनले शुक्रबार अर्थात आजसम्म रुबलमा ग्यास खरिदको प्रक्रियामा नजानेहरुलाई आपूर्ति रोक्ने बताएका छन ।

हामीलाई पनि कसैले फ्रिमा केही दिएको छैन, हामी पनि कसैलाई दान दिनसक्ने अवस्थामा छैनौं भन्दै पुटिनले इन्धन खरिद सम्बन्धि पुरानो करार रद्द गरिएको बताएका छन । रुसले युरोपेली देशहरुलाई ग्यास आपूर्ति गर्दैआएको छ । रुसले ग्यास आपूर्ति बन्द गरे युरोपमा इन्धनको हाहाकार हुने र मूल्यवृद्धि आकाशिने विश्लेषण गरिएको छ ।

उता, जर्मनी, फ्रान्सलगायतका देशहरुले ब्ल्याकमेल नगर्न रुसलाई चेतावनी दिएका छन् । पश्चिमा देशहरुले रुसलाई उसको मुद्रामा भुक्तानी दिन यस अघि नै अस्वीकार गरिसकेका छन् ।

युरोपले आफ्नो आवश्यकताको ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट लिने गर्दछ ।