
काठमाडौं, चैत ७ । कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्व अर्थतन्त्रसहित नेपालको अर्थतन्त्रमा पनि असर पर्ने निश्चित छ ।
विश्व बैंक, एसियाली विकास बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुले संक्रमणले विश्व अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन संकुचन हुने प्रक्षेपण सार्वजनिक गरिसकेका छन् ।
नेपाल राष्ट्र बैंकले पनि कोरोनाले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावका सन्दर्भमा अध्ययन गरिरहेको छ । निर्यात ठप्प छ, आयात प्रभावित छ ।
केही औषधि र खाद्यान्न व्यवसायबाहेक अरु प्रायः सबै व्यापार–व्यवसाय प्रभावित भएको बताइन्छ ।
कोरोनाका कारण प्रत्यक्षरुपमा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको देखिएपनि यसले प्रभाव नपारेको कुनै क्षेत्र नरहेको बताउँछन्, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ ।
सदाझैं अप्ठेरो अवस्थामा निजी क्षेत्र सरकारसँग हातेमालो गर्दै नागरिकको सेवामा समर्पित रहन तयार रहेको श्रेष्ठको भनाइ छ ।
खाद्यान्न र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहुनेमा निजी क्षेत्र ढुक्क रहेको उनको भनाइ छ ।
होटल र केटरिङ व्यवसाय बन्द भएकाले यी क्षेत्रका खाद्य सामग्रीसमेत हिसाब गर्दा ६ महिनासम्मलाई पुग्ने खाद्य सामग्री मौज्दात नै रहेको भन्दै उपभोक्ता आत्तिनुपर्ने स्थिति नरहेको श्रेष्ठको भनाइ छ ।
सरकारले विशेष ‘प्याकेज’को घोषणा गरेर निजी क्षेत्रको मनोबल भने बढाउनुपर्ने उनको सुझाव छ ।
अर्थ मन्त्रालयले समिति गठन गरी राहतमुखी प्याकेज घोषणा गरी निजी क्षेत्रको मनोबल जोगाउनुर्पे उनको भनाइ छ ।
कर र बैंक ऋण तिर्ने समय पुनर्तालिकिरण, बैंक व्याजदर, आयात व्यापारमा ‘डिटेन्सन’ र ‘ड्यामरेज’ शुल्कमा सहुलियतजस्ता प्याकेज ल्याउनुपर्ने सुझाव श्रेष्ठको छ ।
प्रतिक्रिया दिनुहोस्