
नारायणी लामिछाने र सुयेश मानन्धर (इमेज)
काठमाडौं, चैत ७ । ‘कोरोनाभाइरस’को विश्वव्यापी संक्रमणको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा परेको छ ।
पर्यटकहरुको ओहोरदोहोर ठप्पजस्तै बनेको छ । जसबाट साना–ठूला होटलहरु धमाधम बन्द हुने अवस्थामा पुगेका छन् ।
सरकारले भने प्रत्यक्ष प्रभावित यस क्षेत्रको लगानी सुरक्षित गर्ने अहिलेसम्म कुनै योजना ल्याएको छैन ।
कोरोना संक्रमणको त्रासका कारण सरकारले ६६ ओटा देशबाट नेपालमा हुने उडानमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाएको छ ।
यसै पनि पर्यटक आवागमन घटेको बेला उडानमा रोक लगाइँदा होटल क्षेत्र सुनसान बनेको छ । यति बेला ७० देखि ८० प्रतिशतसम्म ‘अकुपेन्सी’ हुने होटलहरुको अकुपेन्सी १० देखि १५ प्रतिशतमात्रै छ ।
नेपालमा उपत्यकामा १० र उपत्यकाबाहिर दुई गरी १२ ओटा पाँचतारे होटल सञ्चालनमा रहेका छन् । तर, ती होटलहरु अहिले सुनसान बनेका छन् ।
कतिपय ठूला होटलहरुले त सेवा बन्द गरिसकेका छन् भने कतिपयले आंशिक बन्द गरेका छन् ।
होटल संघ (हान)की अध्यक्ष सिर्जना राणा कोरोनाका कारण होटल क्षेत्र धरासायी बन्ने खतरा देखिएको भन्दै समस्याको गम्भीरता बुझेर ब्याजदर, ऋण तथा करमा सहुलियत दिने निर्णय तत्काल हुनुपर्ने बताउँछिन् ।
उपत्यकामात्रै नभइ मुख्य पर्यटकीयस्थलहरु पोखरा, चितवन, लुम्बिनीलगायतका स्थानहरुमा पनि पनि होटलको अवस्था चौपट बनेको छ ।
होटल संघले सन् २०२० का लागि नै होटल व्यवसायमा समस्या हुने भन्दै सरकारले राहतको व्यवस्था नगर्ने हो भने करसमेत बुझाउने अवस्था नहुने बताएको छ ।
अमेरिका, भारतलगायत देशहरुमा होटललाई नै ‘क्वारेन्टाइन’मा परिणत गरिएको छ ।
तर, नेपालमा भने कर्मचारीको सुरक्षा तथा होटलमा झनै जोखिम बढ्ने भन्दै क्वारेन्टाइन बनाउन नसकिने धारणा संघको रहेको छ ।
नेपाल पर्यटन वर्षलाई लक्षित गर्दै पछिल्लो समय होटल क्षेत्रमा ठूलो लगानी भएको छ । कोरोनाकै कारण पर्यटन वर्षसमेत स्थगित भइसकेको छ ।
सरकारले तत्काल होटल क्षेत्रको लगानी डुब्न नदिने गरी योजना ल्याउनु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्