
कोमल शेरचन र विशाल तामाङ (इमेज)
काठमाडौं, चैत ७ । विश्व स्वास्थ्य संगठनले नेपाललाई ‘कोरोनाभाइरस’को उच्च जोखिममा राखेपछि संक्रमणबाट जोगिन अहिले मुलकभर सावधानी अपनाउन थालिएको छ ।
मानिसहरुको भीडभाड हुने कार्यालयहरुले सुरक्षा सतर्कता बढाएका छन् ।
सरकारले सेवाग्राहीले अत्यावश्यक सेवा लिनुपर्ने क्षेत्रमा स्वास्थ्य परीक्षण र भाइरसबाट बच्न प्रभावकारी सूचना राख्न निर्देशन दिएपछि काठमाडौंका बैंकहरुमा अहिले संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानीका सूचना टाँसिएका छन् ।
कुनैपनि सेवाग्राही वा कर्मचारी बैंकभित्र प्रवेश गर्दा उनीहरुले स्यानिटाइजरले हात सफा गर्नुपर्छ र थर्मल गनले तापक्रम मापन गरिन्छ ।
बैंकहरुले अपनाएको यो सावधानीप्रति ग्राहकहरु सन्तुष्ट छन् ।
काठमाडौंका अधिकांश बैंकहरुमा स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ । धेरै बैंकहरुमा मानिसको चहलपहल निकै कम भइसकेको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई सकेसम्म डिजिटल प्रविधि प्रयोग गर्न आग्रह गरेकै कारण पनि सेवाग्राहीको भीडभाड कम भएको सनराइज बैंकका शाखा प्रबन्धक देवचन्द्र भट्ट बताउँछन् ।
केही बैंकले संक्रमणको जोखिम रहने भन्दै डिजिटल हाजिरी मेसिन प्रयोगमा रोक लगाएका छन् ।
बैंकहरुले आफ्ना कर्मचारीहरुलाई संक्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, आवश्यक दूरी राख्न पनि निर्देशन दिएका छन् ।
कोरोना संक्रमणको जोखिम कम गर्न पूर्वसावधानी नै महत्वपूर्ण उपाय हो । बैंकहरुले जस्तै अन्य कार्यालयहरुले सावधानीको उपाए अपनाउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्