५ असार २०८१, बुधबार | Wed Jun 19 2024


राजतन्त्र कि गणतन्त्र भन्ने विवाद करिब–करिब सकियो : कमल थापा

‘गठबन्धनका लागि एमालेसँग पहिलो चरणको छलफल भयो’

1.612k
Shares

चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिब–करिब सकिएको बताउनुभएको छ ।

चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर आफूहरू पार्टी निर्माण गरेकाले अब राजतन्त्र की गणतन्त्र भन्ने विवाद करिब–करिब सकिएको बताउनुभयो ।

‘अब राजतन्त्र कि गणतन्त्र भन्ने बहस करिब–करिब सकियो,’ उहाँले भन्नुभयो, ‘अब राष्ट्रको ध्यान आर्थिक विकास र समृद्धितर्फ हुनुपर्छ ।’

नेपालमा राजनीतिक परिवर्तन भए पनि आर्थिक सुधार नहुँदा जनताको अवस्था उस्तै रहेको बताउनुभयो ।

आर्थिक समृद्धिविना कुनै पनि राजनीतिक परिवर्तन दीर्घकालिन नहुने रहेछ भन्ने कुरा घामजस्तै छर्लङ्ग भएकाले आफूहरू राजतन्त्र की गणतन्त्र भन्ने विवादमा नलागेको प्रष्ट पार्नुभयो ।

अब कुनै पनि राजनीतिक मुद्दामा अल्झिनु अर्थहीन रहेको भन्दै राप्रपा नेपाल लोकतन्त्र, सनातन हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डा लिएर जनतामाझ पुगेको बताउनुभयो ।

स्थानीय चुनावमा त्यति चासो नभएको भन्दै विभिन्न राजनीतिक दलसँग गठबन्धन गर्नेकुरामा भने छलफल भइरहेको बताउनुभयो । सुरुमा नेकपा एमालेसँग पहिलो चरणको छलफल भएको थापाको भनाइ थियो ।