चिनियाँ विदेशमन्त्री वाङ यी नेपालमा « Imagekhabar – Online News Portal of Nepal


चिनियाँ विदेशमन्त्री वाङ यी नेपालमा


117
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुग्नु भएको छ ।

१९ सदस्यीय टोलीसहित वाङ भारतको नयाँदिल्लीबाट काठमाडौं उत्रिनु भएको हो ।

विदेशमन्त्री वाङलाई स्वागतका लागि परराष्ट्रमन्त्री नारायण खड्कासहित सरकारी अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । मन्त्रीसँगै परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतको टोली उहाँको स्वागतका लागि विमानस्थल पुगेको थियो ।

वाङ अफगानिस्तान, पाकिस्तान र भारतको भ्रमण सम्पन्न गरी नेपाल आउनु भएको हो । विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा जानु भएको छ । शुक्रबार उहाँको कुनै पनि औपचारिक कार्यक्रम तय गरिएको छैन ।

विदेशमन्त्री वाङ शनिबार बिहान शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको छ । भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिएको छ । त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाटको कार्यक्रम रहेको छ ।

त्यही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर हुने परराष्ट्रमन्त्रालयले जनाएको छ । त्यसपछि उहाँ प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानु हुने छ ।

विदेशमन्त्री वाङले भ्रमणकै दौरानमा काठमाडौंबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमणको तेस्रो दिन आइतबार बिहान उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको छ । ओली र दाहालसँगको भेट नक्सालस्थित होटेल मेरियटमा हुने छ । त्यसपछि होटेल द्वारिकाज जाने र त्यहीँबाट बाङ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।