२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


कोरोना परीक्षण गर्नेको संख्या बढ्यो, कसैमा संक्रमण देखिएन


0
Shares

काठमाडौं, चैत ५ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो परीक्षणमा पनि कसैमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको जनाएको छ ।

रुघा र ज्वरोजस्ता लक्षण देखिएपछि चिकित्सकको परामर्शमा कोभिड–१९ को परीक्षण गर्न प्राप्त २५ वटा नमूनामध्ये १६ वटामा कोरोनाभाइरस नपाइएको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

नौजनाको रिपोर्ट आउन बाँकी छ । बुधबार बिहानसम्म १६ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको हो । परीक्षणका लागि अधिकांश नमुना इटली र चीनबाट आएका विदेशी नागरिकका हुन् ।

यसअघि ४ सय ९६ जनाको परीक्षण गरिएकोमा एक जनाबाहेक सबैको रिपोर्ट सामान्य आएको थियो । नेपालमा कोरोनाभाइरसबाट संक्रमित भए नभएको परीक्षण काठमाण्डुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्र हुन्छ ।

दुई दिनयता परीक्षणको प्रयोगशालामा पठाइने नमुनाको संख्या बढेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले दैनिक आठ सय वटा नमुना परीक्षण गर्न सक्ने जनशक्ति तयार रहेको छ ।

चाप हेरेर दैनिक दुईवटा तालिका निर्धारण गरेर पनि जनशक्ति परिचालन गर्ने प्रयोगशालाको योजना छ ।