२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


युवा उद्यमीहरुको हब बन्दै ‘सोसल क्याफे’


0
Shares

काठमाडौं । नेपालमा संचालित रेष्टुरेन्ट तथा क्याफेहरु नितान्त व्यवसायमा मात्र सिमित छैनन् ।

युवाहरुलाई उद्यमी बनाउने र आत्मनिर्भर बन्न प्रेरित गर्न आइडिया साटासाट गर्ने जक्सन पनि बन्दै गइरहेका छन् ।

यस्तै काठमाडौं गैरीधारामा रहेको सोसल क्याफे युवा उद्यमीहरुको हबका रुपमा परिचित हुन थालेको छ ।

डेनमार्कमा अध्ययन सकेर नेपाल फर्किएपछि मोरङका रन्जन ओझाले संचालनमा ल्याएको क्याफेले यस्तै पृथक पहिचान बनाउन थालेको छ ।

यहाँ दिनहुँजसो तन्नेरीहरु परिकार र संगीतको मजा लिन मात्र पुग्दैनन् उद्यमी बन्नका लागि आइडिया शेयर गर्न, नेटवर्क विस्तार गर्न र नेपाली मौलिकतामाथि बहस गर्न भेला हुने गर्दछन् ।

नेपाली संगीतमार्फत युवाहरुलाई सामाजिक उद्यमी बनाउन ओझाकै अगुवाइमा स्थापना भएको ‘नेपाल म्यूजिक फेस्टिभल’ र ‘नेपाल स्कूल अफ अन्टरप्रिनसीप’ले युवाहरुलाई उद्यमी बनाउन प्रेरित पनि गरिरहेको छ ।

पुरानो ट्याम्पोलाई क्याफेको बार सजाएका ओझा भन्छन्, ‘क्याफें संचालनमा ल्याउनुको उद्देश्य आफूमात्र आत्मनिर्भर बन्न होइन, सयौं युवाहरुलाई उद्यमसील बनाउन प्रेरित गर्न पनि हो ।’

मौलिक शैलीमा संचालित क्याफेमा प्रत्येक शुक्रबार नयाँ प्रतिभाहरुले लाइभ म्यूजिक कार्यक्रम चलाउँछन् ।

संचालक ओझा भन्छन्, ‘संगीतमा रुची राख्ने नयाँ प्रतिभाहरुलाई अवसर दिने प्लेटफर्म पनि हो क्याफे साथै होटल सम्बन्धी सिटीइभीटी अन्तर्गतका सर्ट कोर्षहरु संचालनमा ल्याएका छौं ।’

सोसल क्याफे आफैंले उत्पादन गरेको चाउमिनलाई विभिन्न परिकारमा ग्राहकलाई स्वाद पनि चखाइरहेको छ । ट्याम्पोमा राखिएको बार क्याफेको अर्को आकर्षण हो ।

आकर्षक कन्फरेन्स हल र पुस्तक अध्ययन गर्न रुचाउनेलाई मिनी लाइब्रेरी क्याफेभित्रको अर्को आकर्षण हो ।