
काठमाडौं, चैत ४ । सांसदहरुले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार बसेका बैठकमा सांसदहरुले खाद्य सामाग्री, मास्क, एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई तत्काल कारबाही गर्न माग गरेका हुन् ।
सांसद देवेन्द्र पौडेलले कालोबजारी मौलाइरहेको भन्दै अनुगमन प्रभावकारी बनाइ जनतालाई आश्वस्त पार्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अमृतादेवी अग्रहरीले बजारमा पेट्रोलियम पदार्थको बारम्बार अभाव हुने गरेपनि सरकारले भन्डारणका लागि कुनै काम नगरेको भन्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने बताइन् ।
सांसद भीमसेनदास प्रधानले राज्यको कमजोरीकै कारण कालोबजारी मौलाउने भन्दै गम्भीर भइ अनुगमनलाई तीव्रता दिन माग गरे ।
सांसदहरुले सम्भावित विपद्को पूर्वतयारी प्रभावकारी तवरले गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिबद्धता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आपूर्ति सहज भइरहेकाले बजारमा अभाव हुनुपर्ने कारण नरहेको भन्दै प्रभावकारी अनुगमन गरिरहेको र अझ बढाउने प्रतिबद्धता व्यक्त गरे ।
मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको सहुलियत बजार स्थापनाको तयारी भइरहेको पनि उनले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्